• २०८३ कार्तिक ६, बिहीबार
  • 2026 October 22, Thursday
  • Unicode Converter

विश्व बैङ्कको सहयोगमा पोखरामा दुई सडक बने, एक निर्माणाधीन

पोखरा, १ भदौ
नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा महानगरपालिकास्थित शिशुवा–खुदीखोला र कालिकास्थान–लामेआहाल–पुँडीटार सडक विस्तार तथा स्तरोन्नितको काम सकिएको छ । पोखरा–३० को शिशुवा–खुदीखोला ४।१४ किमि सडक उद्घाटन भइसकेको छ भने पोखरा–३३ मा पर्ने कालिकास्थान–लामेआहाल–पुँडीटार सडक हस्तान्तरण हुन बाँकी छ ।

आयोजना अन्तर्गतको पोखरा–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने सडक भने निर्माणाधीन अवस्थामा छ । चार लेनको उक्त सडक आगामी कात्तिक मसान्तसम्ममा सक्ने गरी अन्तिम पटकलाई म्याद थप भएको आयोजनाका स्रोतव्यक्ति इन्जिनियर नवीन गौतमले जानकारी दिनुभयो । सङ्घ सरकारको समन्वय तथा विश्व बैङ्कको आर्थिक सहयोगमा पोखरामा उक्त आयोजना सञ्चालनमा रहेको उहाँको भनाइ छ ।

विश्व बैङ्कको ४८ करोड ९६ लाख ३५ हजार दुई सय ५४ रुपैयाँ आर्थिक सहयोगमा शिशुवा–खुदीखोला सडक निर्माण भएको हो । नालीसहित १५ मिटरमा दुई लेन सडक, १।५ मिटर साइकल लेन र २।५ मिटर फुट ट्रयाक रहेको इन्जिनियर गौतमले बताउनुभयो । आशिष निर्माण सेवाले विसं २०८१ वैशाख २ मा निर्माण सम्झौता गरी निर्धारित समयमै सडकको काम सकेको उहाँको भनाइ छ ।

कालिकास्थान–लामेआहाल–पुँडीटार सडक निर्माण पनि गत असारमै पूरा भएको उहाँले बताउनुभयो । पोखरा भित्रने वैकल्पिक सडकका रुपमा हेरिएको उक्त सडकको दुरी १२।४४ किमि रहेको छ । साइकल ट्रेक र फुटपाथसहित सडक निर्माण गरिएको इन्जिनियर गौतमले बताउनुभयो ।  आशिष निर्माण सेवाले रु। ७७ करोड ६८ लाखमा ठेक्कामा उक्त सडक बनाएको हो ।

पोखरा–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले छिटपुटबाहेक सडक निर्माणको काम सकिएको बताउनुभयो । सडक उद्घाटन भने भइनसकेको उहाँले बताउनुभयो । सडकको दायाँबायाँ तीन मिटरमा फलफूलका बिरुवा रोप्ने योजना रहेको वडाध्यक्ष अधिकारीको भनाइ छ । तनहुँको कोत्रे हुँदै बाघमारा भएर पोखरा भित्रने वैकल्पिक मार्गका रुपमा यो सडकलाई विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।

सडक स्तरोन्नति भएसँगै आवतजावत तथा स्थानीय उत्पादनको बजारीकरणमा पनि महत्वपूर्ण टेवा विश्वास लिइएको छ । साविक भरतपोखरी गाउँ विकास समिति रहेको त्यस क्षेत्र पोखरा महानगरपालिकामा गाभिएपनि अपेक्षित रुपमा विकास हुन नसकेको वडाध्यक्ष अधिकारीले बताउनुभयो । महानगरभित्रका ग्रामिण र विकासमा पछाडि पारिएका वडालाई बजेट तथा कार्यक्रममा प्राथमिकता दिन महानगरको नेतृत्वससँग पहल भइरहेको उहाँको भनाइ छ ।

निर्माणमा ढिलासुस्ती भइरहेको तालचोक–बेगनास सडकलाई थपिएको म्यादभित्र काम सक्न महानगरले ताकेता गरिरहेको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उक्त सडकमा देखिएको जग्गाको मापदण्डलगायतका विवाद समाधान भइसकेकाले निर्माणले गति लिने उहाँको भनाइ छ । “सडकको काम पूरा गर्न निर्माण कम्पनीलाई समयसीमा दिएका छौँ”, प्रमुख आचाार्यले भन्नुभयो ।

विसं २०७९ चैतदेखि निर्माण थालिएको तालचोक–बेगनास सडक निर्माण कम्पनीको ढिलासुस्तीका कारण समयमा बन्न नसकेको हो । ३।२८ किमिको उक्त सडकलाई चार लेनमा स्तरोन्नति गर्न ‘स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी’ले निर्माण जिम्मा पाएको थियो । ठेक्का सम्झौता भएको एक वर्षपछि बल्ल सडक निर्माणको काम सुरु भएको थियो ।

रु। एक अर्ब ४९ करोडको लागत योजना रहेपनि निर्माण कम्पनीसँग भ्याटसहित रु। ७५ करोड ४८ लाखमा ठेक्का सम्झौता भएको इन्जिनियर गौतमले बताउनुभयो । फुट ट्रयाक, साइकल लेन, सडक बत्ती र पार्किङसहितको नुमना सडक बन्ने उहाँको भनाइ छ । सडक छेउछाउमा बगैँचा, यात्रु प्रतिक्षालयसहित आकर्षक पूर्वाधार बनाइने उहाँको भनाइ छ  । सडकमा तीन वटा पुल पनि निर्माणाधीन अवस्थामा छन् । अहिले सडक विस्तार, फुटपाथ, कल्भर्ट, नाला र पर्खाल आदि निर्माणको काम भइरहेको छ ।

पृथ्वी राजमार्गसँग जोडिएको उक्त सडक बेगनास, रुपा गाउँपालिका हुँदै लमजुङ जोडिन्छ । महानगरकै गौरवको आयोजनाका रुपमा तालचोक–बेगनास सडक विस्तार एवं स्तरोन्नति कार्यलाई अगाडि बढाइएको हो । पोखरा महानगरपालिका र सहरी विकास तथा भवन निर्माण विभागबीच सन् २०२१ मार्चमा परियोजना सम्झौता भई सडक निर्माणको काम अगाडि बढेको थियो ।