• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday
  • Unicode Converter

गायक प्रकाश दूतराजको अब छुट्टै लाइभ ब्याण्ड

बागलुङ, ३१ साउन
गायक प्रकाश दूतराज आफ्नै लाइभ ब्याण्डसहित दर्शक–श्रोतामाझ प्रस्तुत हुने भएका छन्। ब्याण्डको औपचारिक सुरुवात आगामी भदौ १२ गते म्याग्दीको बेनीमा लाइभ कन्सर्टमार्फत गर्ने तयारी गरिएको छ। यसबारे उनले शुक्रबार बागलुङमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन्।

दूतराजले अबका आफ्ना प्रस्तुतिमा लाइभ ब्याण्डमार्फत बाँसुरी, सारङ्गी लगायतका विभिन्न मौलिक नेपाली बाजाको प्रयोग गरिने बताए। जन्मजिल्ला म्याग्दीबाट ब्याण्डको सुरुवात गरी देशका विभिन्न स्थानमा प्रस्तुति दिने उनको योजना छ।

“यो मेरो नयाँ अभ्यास हो,यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा योजना बनिरहेको छ, शुभचिन्तक तथा दर्शक–श्रोताबाट आउने प्रतिक्रियाका आधारमा आगामी यात्रा तय गर्न सहज हुनेछ,” उनले भने।

दूतराजको ब्याण्डका प्रस्तुतिमा विभिन्न प्रकारका नेपाली मौलिक पोसाकलाई समेत आकर्षणका रूपमा प्रस्तुत गरिने जनाइएको छ।

लोकभाकामा आधारित गीतमार्फत लोकप्रियता कमाएका दूतराजका ‘घर कता हो बहिनीको’, ‘मनकी रानी’, ‘मनमाया’, ‘रिमै’, ‘जुनमाया’, ‘रामसाइली’ लगायतका गीत चर्चित छन्।