बागलुङ, २९ साउन
नेपाल सरकारका महान्यायाधिवक्ता नारायण दत्त कँडेलले कानून व्यवसायीहरू न्यायको पहुँचका सारथी भएको बताउनुभएको छ।
उच्च अदालत बार इकाइ बागलुङको ४८ औँ साधारणसभाको उद्घाटन गर्दै उहाँले न्याय प्रणालीलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन नेपाल बारले अग्रणी भूमिका खेल्नुपर्ने बताउनुभयो। न्याय र कानूनका क्षेत्रमा देखिने नकारात्मक पक्षहरूलाई पहिचान गरी तिनलाई सकारात्मक दिशातर्फ रूपान्तरण गर्न सबै कानून व्यवसायी लाग्नुपर्ने उहाँको भनाइ थियो।
महान्यायाधिवक्ता कँडेलले कानून व्यवसाय विश्वसनीय पेसा भए पनि यस क्षेत्रविरुद्ध पनि विभिन्न गुनासा र मुद्दाहरू आउने गरेको उल्लेख गर्दै त्यसको समाधानका लागि आचार संहिता निर्माण गरि लागु गर्ने काम भैरहेको बताउनुभयो ।
उहाँले विद्यमान कानूनमा रहेका कमी–कमजोरी तथा अस्पष्टतालाई सुधार गर्न कानूनमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय कानून सुधार समिति गठन गरिएको बताउनुभयो। “यस वर्षलाई कानून निर्माण वर्षका रूपमा मनाउने गरी काम सुरु गरिएको छ,” उहाँले भन्नुभयो, “यसबाट कानूनद्वारा सम्बोधन हुन नसकेका धेरै समस्या समाधान हुने विश्वास लिएको छु।” जिल्लास्तरबाट प्राप्त सुझाव र सल्लाहलाई सम्बन्धित निकायसम्म पुर्याउने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो।
नेपाल बार एसोसिएसन उच्च अदालत बार इकाई बागलुङकी अध्यक्ष गिता श्रीषको अध्यक्षता, सचिव उमाशंकर सापकोटाको संचालन र उपाध्यक्ष लक्ष्मी बास्कोटाको स्वागतमा सम्पन्न साधारणसभामा उच्च अदालत बागलुङकी न्यायाधिस सरलाकुमारी पाण्डे, मुख्य न्यायाधिवक्ता चिरन्जिवी शर्मा, वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद शर्मा निउरे, काजी गाउँले श्रेष्ठ, हरिप्रसाद शर्मा, भूमिश्वर शर्मा गौतम, बारका पूर्व अध्यक्ष राम शर्मा, महिला विभाग प्रमुख लक्ष्मीदेवी जिसी कार्की, लेखापढी व्यवसायी संघका प्रतिनिधि संजिव श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बारले साधारणसभाका अवसरमा अदालतमा आएका न्यायाधिस तेजनारायण पौडेलको स्वागत र सरुवा भएका न्यायाधिस डण्डपाणी शर्मालाई बिदाइ पनि गरेको थियो । कार्यक्रममा सचिवको प्रगती प्रतिवेदन र कोषाध्यक्ष रामराज कँडेलको आर्थिक प्रतिवेदन पास गरिएको अध्यक्ष श्रीषले जानकारी दिनुभयो ।