• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday
  • Unicode Converter

बागलुङमा ‘रन बागलुङ–३’ सम्पन्न, बादल कार्की प्रथम

बागलुङ, २८ साउन

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बागलुङमा आयोजित ‘रन बागलुङ–३’ दौड प्रतियोगिता सम्पन्न भएको छ। लियो क्लब अफ बागलुङ कालीगण्डकी र लायन्स क्लब अफ बागलुङ कालीगण्डकीको संयुक्त आयोजनामा बुधबार प्रतियोगिता सम्पन्न भएको हो।

बागलुङ कालिका मन्दिरको मूल गेटबाट सुरु भएको दौड रामरेखा ट्राफिक चोक, लोकतान्त्रिक चोक, जिपपार्क चोक, श्रीनगरटोल, उपल्लाचौर र रमेटार हुँदै कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा पुगेर समापन भएको थियो। प्रतियोगितामा १ सय २२ जना युवाको सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा बादल कार्कीले २६ मिनेट २५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरे। त्यसैगरी सोदिप सुवेदी २७ मिनेट १ सेकेन्डमा दूरी पार गर्दै द्वितीय तथा सक्षम बोहोराले २७ मिनेट २५ सेकेन्डमा दूरी पूरा गरी तृतीय स्थान हासिल गरे।

लियो क्लब अफ बागलुङ कालीगण्डकीका अध्यक्ष विनोद कार्कीका अनुसार प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ।

प्रतियोगिताको समापन कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले युवाहरू शारीरिक तथा मानसिक रूपमा सबल भए मात्र राष्ट्र विकासमा प्रभावकारी योगदान दिन सक्ने बताए। उनले जेनजी आन्दोलनपछि युवाहरूको सुशासन र सामाजिक उत्तरदायित्वमा थप भूमिका बढेको उल्लेख गर्दै खेलकुदका यस्ता गतिविधिले युवालाई सकारात्मक मार्गतर्फ प्रेरित गर्ने धारणा राखे।

कार्यक्रमलाई बागलुङ नगरपालिका, एकीकृत सेवा कार्यालय, कालिका भगवती गुठी व्यवस्थापन समिति, रंगवेंकटेश्वर मुक्तिनारायण मन्दिर तथा खुसी मन नेपालले सहयोग गरेका थिए।