• २०८३ आश्विन २०, मङ्गलबार
  • 2026 October 06, Tuesday
  • Unicode Converter

महिलालाई उद्यमशीलतासँग जोड्न साबुन बनाउने तालिम

बागलुङ, २७ साउन

महिलालाई उद्यमशीलतासँग जोड्ने उद्देश्यले बागलुङमा साबुन बनाउने तालिम सुरु गरिएको छ। महिला उद्यम विकास समिति बागलुङको आयोजनामा महिलाहरूलाई निःशुल्क रूपमा साबुन बनाउने तालिम सञ्चालन गरिएको हो।

मंगलबार आयोजित एक कार्यक्रमबीच तालिमको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष नरेश कँडेलले साना स्तरबाट सुरु भएका उद्यमहरू नै समयसँगै ठूला उद्योग र कम्पनीका रूपमा विकास हुन सक्ने बताउनुभयो। उहाँले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतारेर उद्यमशीलतामा जोडिन सहभागीहरूलाई आग्रह गर्नुभयो।

कँडेलले महिलाहरूलाई आत्मनिर्भर र उद्यमी बनाउन यस्ता सीपमूलक तालिम महत्वपूर्ण हुने उल्लेख गर्दै सीप र उद्यमशीलताले महिलाको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले सिकेको सीपलाई सदुपयोग गर्दै उद्यममा जोडिन सहभागीहरूलाई आग्रह गर्नुभयो। उद्यमीहरूलाई लगानीमा सहजता होस् भन्ने उद्देश्यले आफुहरुले सहुलियत ऋण उपलब्ध गराउने बैंकको खोजी गरिरहेको उहाँको भनाइ थियो ।

महिला उद्यम विकास समिति बागलुङकी अध्यक्ष पिङ्गला खड्का जिसीले समितिको नियमित खर्च कटौती गरी स्रोत व्यवस्थापन गरिएको जानकारी दिँदै तालिम सञ्चालनका लागि करिब रु. १ लाख ३० हजार खर्च हुने अनुमान रहेको बताउनुभयो।

बागलुङ उद्योग वाणिज्य संघको सभाहलमा सञ्चालन भइरहेको तालिममा  २८ जना महिलाको सहभागिता रहेको छ  । तालिम चार दिनसम्म सञ्चालन हुने छ।

उद्घाटन कार्यक्रम समितिकी अध्यक्ष पिङ्गला खड्का जिसीको अध्यक्षता, महासचिव रम्बादेवी शाक्यको सञ्चालन तथा उपाध्यक्ष जुनु श्रेष्ठको धन्यवाद मन्तव्यसहित सम्पन्न भएको थियो।