• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

सोमबार बागलुङमा १ हजार ९२२ ग्यास सिलिन्डर वितरण गरिने

बागलुङ, २४ साउन

बागलुङमा सोमबार १ हजार ९२२ सिलिन्डर एलपी ग्यास वितरण गरिने भएको छ। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार १ हजार १७० सिलिन्डर गृहलक्ष्मी र ७५२ सिलिन्डर शक्ति ग्यास गरी कुल १ हजार ९२२ सिलिन्डर ग्यास वितरणको तयारी गरिएको हो।

जिल्लामा देखिएको एलपी ग्यास अभावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङको पहलमा आइतबार सरोकारवाला निकायहरूको बैठक बसेको छ। बैठकले ग्यास आपूर्ति तथा वितरणलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो।

बैठकले सदरमुकाम क्षेत्रमा रहेका १८ वटा एलपी ग्यास वितरकमार्फत नियमानुसार ग्यास वितरण गर्ने, वितरणका लागि छुट्टै फाराम तयार गरी प्रत्येक विक्रेताले उपभोक्ताको अभिलेख राख्ने निर्णय गरेको छ।

सदरमुकाम बाहिरका व्यापारिक केन्द्रहरूमा ग्यास अभाव हुन नदिन स्थानीय तह, वितरक तथा सम्बन्धित निकायबीच समन्वय गरी आपूर्ति व्यवस्थापन गर्ने निर्णयसमेत गरिएको छ। उपभोक्ताले अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न जिल्ला प्रहरी कार्यालयमार्फत सचेतनामूलक सन्देश प्रवाह गरिने जनाइएको छ।

बैठकमा ग्यास वितरणलाई सहज, पारदर्शी र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, बागलुङ नगरपालिका, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, राष्ट्रिय उपभोक्ता मञ्चलगायतका सरोकारवाला निकायले आपूर्ति व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय भएको छ ।