• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

पदयात्राका क्रममा सम्पर्कविहीन बनेका तीन युवक सकुशल भेटिए

पोखरा, २१ साउन

मर्दी हिमालको पदयात्राबाट फर्कने क्रममा कास्कीको माछापुछ«े गाउँपालिका–९ बादलडाँडा नजिकको जङ्गलबाट सम्पर्कविहीन बनेका तीन युवक सकुशल भेटिएका छन् । बुधबार बिहानदेखि हराएका पोखरा महानगरपालिका–१४ खसीबजार बस्ने २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २६ वर्षीय करण लामा आज बिहान अन्नपूर्ण गाउँपालिका–११ छुमरुङवेशीमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले अहिले युवकहरुको उद्धार गर्ने कार्य भइरहेको बताउनुभयो । “तीनै जना युवक सकुशल भेटिनुभएको छ, अहिले उद्धार गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो । बुधबार बिहान ८ बजेसम्म सम्पर्कमा रहेकामा त्यसपछि युवकहरुको मोबाइल बन्द भएको थियो ।

जङ्गलमा बाटो बिराएर अलपत्र परेका उनीहरुको खोजीमा नेपाली सेना, सशत्र प्रहरी बल, जनपद प्रहरीलगायत स्थानीयवासी जुटेका थिए । मर्दी हिमालको हाइ क्याम्पबाट पोखरा फर्कने क्रममा बादलडाँडाको जङ्गलमा हराएका युवकहरु मोदी खोलाको पारिपट्टि छुमरुङवेशीमा भेटिएको घान्द्रुक प्रहरी चौकीका प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेलले जानकारी दिनुभयो । – राम थापा