पोखरा, २० साउन
मर्दी हिमालको पदयात्राबाट फर्कने क्रममा कास्कीको पोखरा महानगरपालिका–१४ खसीबजार बस्ने २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र दीपेश गुरुङ सम्पर्कविहीन भएका छन् ।
माछापुच्छे गाउँपालिका–९ बादलडाँडा नजिकको जङ्गलमा बाटो बिराएर अलपत्र परेको हुन सक्ने आशङ्कामा प्रहरीले उनीहरुको खोजी कार्य तीव्र पारेको छ । आज बिहान ८ बजेसम्म सम्पर्कमा रहेकामा त्यसपछि युवकहरुको मोबाइल अफ भएको माछापुच्छे –६ भेँडावारीस्थित अस्थायी प्रहरी पोष्टका प्रहरी हवल्दार जीवन बरालले जानकारी दिनुभयो ।
“मर्दी हिमालको हाइ क्याम्पबाट फर्कने क्रममा बाटो बिराएर जङ्गलमा अलपत्र परेको भन्ने सूचनापछि बिहानैदेखि खोजी कार्य भइरहेको छ”, उहाँले भन्नुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जङ्गलमा अलपत्र परेका युवाहरु छुमरुङको फेदी मोदीखोलाको आसपासमा रहेको सूचना प्राप्त भएपछि खोजी तथा उद्धारका लागि सशत्र र जनपद प्रहरीको टोली खटिएको जानकारी दिनुभयो । – राम थापा
