पोखरा, १८ साउन
मानवसेवा आश्रमले गत वैशाख १९ देखि २६ गतेसम्म कास्कीको पोखरा महानगरपालिका–२५ हेमजामा आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञबाट रु. तीन करोड चार लाख ५९ हजार एक सय ८४ बचत भएको छ ।
महायज्ञ मूल आयोजक समितिले आज पोखरामा पत्रकार सम्मेलन गरी रु. तीन करोड ८१ लाख ७१ हजार सात सय ७१ आर्थिक सहयोग सङ्कलन भएकामा रु. ७७ लाख १२ हजार पाँच सय ८७ खर्च भई बाँकी रकम बचत भएको जनाएको हो ।
जसमा नगद, चेक सटही, अनलाइन माध्यमबाट गरी रु. दुई करोड २४ लाख ७९ हजार एक सय ६३ आर्थिक सहयोग प्राप्त भएको समितिका कोषाध्यक्ष मीना कुँवरले बताउनुभयो ।
महायज्ञमा गरिएको प्रतिबद्धता अनुसार व्यक्तगत रुपमा रु. एक करोड नौ लाख ३९ हजार एक सय ७९, संस्थागत तर्फबाट रु. दुई लाख ८८ हजार तीन सय ४२ र विभिन्न स्थानीय तहहरुबाट रु. ३२ लाख १३ हजार तीन सय ३३ प्राप्त हुन बाँकी रहेको कोषाध्यक्ष कुँवरले बताउनुभयो ।
यस्तै दान गरिएका जिन्सी सामग्रीबाट रु. सात लाख ८१ हजार तीन सय ९५, दान पेटिकामा प्राप्त भएको रु. चार लाख २२ हजार पाँच सय ७३ लगायतबाट गरी कुल रु. तीन करोड ८१ लाख ७१ हजार सात सय ७१ सङ्कलन भएको थियो ।
जसमध्ये अक्षयकोषमा रहने गरी रु. ४९ लाख ७३ हजार पाँच सय ८६, मुक्तिनाथ सेवा धर्मशाला निर्माणका लागि रु. २१ लाख १८ हजार आठ सय २१, आश्रमको भवन निर्माण सम्पन्न गर्न रु. एक करोड ४२ लाख ८२ हजार सात सय ६०, लक्ष्मीनारायण मन्दिर निर्माणमा रु. दुई लाख ७५ हजार दुई सय ४३ र महायज्ञ व्यवस्थापनमा रु. १२ लाख ५१ हजार तीन सय २६ प्राप्त भएको जनाइएको छ ।
महायज्ञ मूल आयोजक समितिका संयोजक अनिलकुमार शाहीले बचत भएको रकम हेमजामा निर्माणाधीन आश्रम भवन, लक्ष्मीनारायण मन्दिर, मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा आश्रमको अक्षयकोष वृद्धिका लागि प्रयोग गरिने बताउनुभयो । महायज्ञमार्फत प्राप्त सहयोगले आश्रमको दीर्घकालीन सेवा व्यवस्थापनलाई महत्वपूर्ण टेवा पुगेको उहाँको भनाइ छ । मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले आर्थिक जोहोका लागि मात्र नभएर मानवता प्रवद्र्धनका लागि महायज्ञ गरिएको बताउनुभयो । उहाँले हेमजास्थित आश्रम क्षेत्रलाई ‘मानवसेवा शास्वत धाम’का रुपमा विकास गर्ने लक्ष्य लिइएको उल्लेख गर्नुभयो ।
सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार र जीवनरक्षामा सक्रिय आश्रमले मानवसेवाको उत्कृष्ट नुमनाका रुपमा हेमजाको आश्रमलाई विकास गर्ने योजना बनाएको छ । निर्माणाधीन अवस्थामा रहेको मानवसेवा आश्रम भवनको पूर्वतर्फ ‘मुक्तिनाथ सेवा धर्मशाला’ निर्माण हुन जनाइएको छ । मुक्तिनाथलगायत यस क्षेत्रका प्रसिद्ध तीर्थस्थलमा जाने स्वदेशी तथा विदेशी श्रद्धालुहरुलाई लक्षित गरी उक्त धर्मशाला बनाउन लागिएको हो ।
तीर्थयात्रीहरुलाई आवास र भोजनसहितको निःस्वार्थ सेवाका लागि उक्त धर्मशाला निर्माणको योजना ल्याइएको हो । एक सय महिला र एक सय पुरुष गरी दुई सय जनालाई सेवा दिन मिल्ने गरी धर्मशाला बन्ने जनाइएको छ । सोही स्थानमा अहिले लक्ष्मीनारायण मन्दिर पनि निर्माण भइरहेको छ ।
तीनै तहका सरकार र दाताहरुको आर्थिक सहयोगमा आश्रमको भवनलगायत अन्य संरचना निर्माणको काम भइरहेको हो । आश्रमको हेमजा र छोरेपाटन गरी कास्कीमा दुईवटा सेवाकेन्द्र छन् । छोरेपाटन सेवाकेन्द्रमा महिला मात्र आश्रित छन् ।
‘मानवता प्रवद्र्धन महाअभियान’ सञ्चालन गरिरहेको आश्रमले बेसहारा, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर, सडकआश्रित मानवहरुको व्यवस्थापन, औषधोपचार र पालनपोषण गर्दै आएको छ ।