• २०८३ आश्विन २३, शुक्रबार
  • 2026 October 09, Friday
  • Unicode Converter

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

बागलुङ, १८ साउन

वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय, म्याग्दीले आग्रह गरेको छ । मुस्ताङ तर्फबाट लेदोसहितको बाढी मिसिएर नदीको बहाव बढीरहेको जनाउँदै प्रहरीले नदी किनार तथा जोखिमयुक्त ठाउँमा नजान र सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई अनुरोध गरेको हो ।
तटीय क्षेत्रमा निम्तन सक्ने सम्भावित जोखिमलाई दृष्टिगत गरी सतर्क रहन सूचित गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताउनुभयो । “माथिबाट लेदोसहितको बाढी आएको जानकारी प्राप्त भएको छ, कालीगण्डकी नदीको आसपासमा रहनुहुने बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो ।

पहिराका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडक पनि अझै खुलाउन नसकिएको उहाँले बताउनुभयो । रघुगङ्गा गाउँपालिका–२ बैसेरीमा आज दिउँसो पहिरा जाँदा कालीगण्डकी करिडोरअन्तर्गतको उक्त सडक खण्डमा यातायात सेवा बन्द छ । वर्षा भइरहेको र निरन्तर पहिरा खसिरहेकाले सडक सुचारु गर्न नसकिएको प्रहरीले जनाएको छ ।