पोखरा, १४ साउन
पोखराको फिर्केखोलाको खोलाघरभित्र बनेका सबै संरचना हटाउन पोखरा महानगरपालिकाले सम्बद्ध पक्षलाई पुनस् सूचित गरेको छ । खोलाघर क्षेत्रमा मापदण्ड मिचेर बनाइएका केही ठूला संरचना गत जेठमा महानगर आफैले डोजर लगाएर हटाएपनि अन्य संरचना अझै यथावत छन् ।
महानगरपालिकाले बुधबार सार्वजनिक सूचनामार्फत केही घरधनी र संस्थाहरूले मौखिक प्रतिबद्धता अनुसार संरचना नहटाएकामा ध्यानाकर्षण भएको जनाउँदै कबुल गरे बमोजिम संरचना हटाउन आग्रह गरेको हो ।
महानगरको आग्रहलाई अटेर गरेमा वर्षायाम सकिनासाथ महानगर आफैले खोलाघरभित्र बनेका संरचना पूर्ण रूपमा हटाउने जनाइएको छ । घरधनी र संस्थाहरूको आग्रह र मौखिक प्रतिबद्धता अनुसार संरचना हटाउन केही समय दिइएपनि खोलाघरभित्रका अनधिकृत संरचना हटाउने अभियान जारी रहेको महानगरले स्पष्ट पारेको छ ।
समय उपलब्ध गराउँदासमेत हालसम्म प्रतिबद्धता बमोजिम संरचना नहटाइएकामा महानगरले आपत्ति जनाएको छ। वर्षायामका कारण डोजरलगायतका ठूला उपकरणहरू परिचालन गर्न व्यावहारिक कठिनाइ भइरहेकाले तत्काल संरचना हटाउन केही असहजता रहेको महानगरको सूचनामा उल्लेख छ ।
फिर्केखोलाको संरक्षण र विकास गर्दै वातावरण तथा पर्यावरणमैत्री पोखरा निर्माण गर्ने अभियानमा हातेमालो गर्न महानगरले सबैमा आग्रहसमेत गरेको छ । पोखरा महानगरपालिकाका–१८ अधँरीकुना हुँदै फेवाताल मिसिने फिर्केखोला संरक्षण तथा सौन्दर्यीकरण गर्न वातावरण संरक्षणका लागि महाअभियानले पनि केही दिनअघि महानगरको ध्यानाकर्षण गराएको थियो ।
महाअभियानले फिर्केखोला खोलाघरमा निर्मित सबै संरचना हटाइ पैदल मार्ग र साइकल लेनसहितको फिर्केखोला करिडोर निर्माण गर्नुपर्नेमा जोड दिँदै आएको छ । महाअभियानका संयोजक रामबहादुर पौडेलले फिर्केखोलामा अतिक्रमण हटाउन महानगरपालिकाले लिएको पहल सकारात्मक भए पनि कतिपय संरचना अझै नहट्नुमा महानगरपालिका र सम्बन्धित वडाको कमजोरी रहेको बताउनुभयो।
बढ्दो अतिक्रमण, प्रदूषण, फोहरमैला व्यवस्थापनमा भएको कमजोरी, योजनाविहीन सहरीकरण तथा नियमनमा भएको लापरबाहीले फिर्केखोलाको प्राकृतिक स्वरूप र अस्तित्वमाथि नै चुनौती थपिएको महाअभियानको ठहर छ ।
पोखरा–१८ अँधेरीकुनाबाट वडा नं। २, ४, ५, ८, ७, १७ र ६ हुँदै फिर्केखोला फेवातालमा मिसिन्छ । महाअभियानले वडा नं। ४, ५, ८ र ७ स्थित फिर्केखोला खोलाघरमा विभिन्न संरचना हटाउन बाँकी रहेकाले तिनलाई पूर्ण रूपमा हटाउन महानगरपालिकासँग माग गरेको छ ।
