• २०८३ कार्तिक ६, बिहीबार
  • 2026 October 22, Thursday
  • Unicode Converter

दूग्ध उत्पादक किसानलाई साढे पाँच करोड अनुदान

पोखरा, ११ साउन

दूध उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रममार्फत गत आवमा गण्डकी प्रदेशका ११ हजार दुई सय ३२ किसानले रु. पाँच करोड ५८ लाख प्रोत्साहन सहयोग पाएका छन् । ८६ वटा दूग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानले दुई करोड ७५ लाख ७७ हजार लिटर दूधका लागि प्रोत्साहन सहयोग प्रदान गरिएको प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ ।

मापदण्ड अनुसार छनोट भएका दूग्ध सहकारीमार्फत किसानलाई प्रोत्साहन सहयोग उपलब्ध गराउने गरिएको मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा शोभा शर्माले बताउनुभयो । संस्थागत रुपमा दूध बिक्री गर्दै आएको, दैनिक कम्तीमा दुई सय लिटर र वार्षिक कम्तीमा दुई सय दिन दूधको कारोबार गर्ने सहकारीले मात्र उक्त सहयोग कार्यक्रमका लागि आवेदन दिन पाउने व्यवस्था रहेको उहाँको भनाइ छ ।

गण्डकी प्रदेशभित्र दूध उत्पादन गरी हरेक आवमा कम्तीमा तीस दिन सहकारीमा दूध बिक्री गर्ने किसानले प्रोत्साहन सहयोग प्राप्त गर्ने गरेका हुन् । एउटा सहकारीलाई बढीमा रु. १७ लाख ५० हजारसम्म प्रोत्साहन सहयोग गर्ने गरिएको वरिष्ठ पशु विकास अधिकृत डा शर्माले बताउनुभयो । “किसानलाई प्रतिलिटर दूधमा पाँच रुपैयाँका दरले प्रोत्साहन सहयोग दिने गरिएको छ, कतिपय सहकारीमा माग धेरै हुँदा प्रोत्साहन रकम केही कम पनि हुने गरेको छ”, उहाँले भन्नुभयो ।

सहकारीले प्राप्त गरेको प्रोत्साहन रकममध्ये बढीमा चार प्रतिशत रकम कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि सहकारीमा राखी बाँकी ९६ प्रतिशत रकम किसानलाई वितरण गर्ने गरेका छन् । सहकारीले सम्बन्धित किसानको बैंक तथा वित्तिय संस्थामा रहेको खातामा रकम जम्मा गरी सोको विवरण सम्बन्धित कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ । दूध उत्पादन व्यवसायमा संलग्न किसानलाई प्रोत्साहन गरी दूग्ध उत्पादन वृद्धि गर्न मन्त्रालयले उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रम सञ्चालन गरेको हो ।