पोखरा, १० साउन
गण्डकी प्रदेशका दस जिल्लाका ३४ स्थानीय तहमा सञ्चालित पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनामार्फत एक सय ५९ हेक्टरमा फलफूल खेती विस्तार गरिएको छ ।
तीन सय नौ हेक्टरमा आयोजना कार्यान्वयनको सम्झौता भइसकेकामा पछिल्ला तीन वर्षमा उक्त क्षेत्रमा फलफूल खेती विस्तार भएको हो । सन् २०२९ सम्म सञ्चालन हुने उक्त आयोजनाबाट २५ सय हेक्टरमा व्यावसायिक फलफूल खेती विस्तार गर्ने लक्ष्य छ ।
प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय मन्त्रालयअन्तर्गत रहेको आयोजना कार्यान्वयन एकाइका कृषि अर्थ विज्ञ मनोज पौडेलका अनुसार नवलपुर बाहेक दस जिल्लाका विभिन्न स्थानीय तहमा आयोजना सञ्चालित छ ।
नेपाल सरकार र एसियाली विकास बैङ्कको अनुदान सहयोग रहेको उक्त आयोजनाका लागि चालु आवमा रु. ३० करोड बजेट विनियोजन भएको उहाँले बताउनुभयो । आयोजना अन्तर्गत सुन्तला, स्याउ, कागती, किवी, ओखर, एभोकाडो र मेकाडेमिया खेतीका लागि किसानलाई अनुदान दिने गरिएको छ ।
मुस्ताङ र मनाङमा स्याउ खेती र अन्य जिल्लामा सुन्तला, कागती, किवी, ओखर, एभोकाडोलगायत फलफूल खेती विस्तार भइरहेको कृषि अर्थ विज्ञ पौडेलले बताउनुभयो । “चालु आवका लागि प्रस्ताव मागको तयारी भइरहेको छ, छिट्टै सूचना प्रकाशन हुन्छ”, उहाँले भन्नुभयो, “समूह, सहकारी या कृषि फार्मले आवदेन दिन मिल्छ ।”
पहाडी भेगमा जग्गाको मापदण्ड धेरै हुँदा प्रस्ताव कम परेपछि न्यूतम १० रोपनी कायम गर्ने गरी कार्यविधि परिमार्जनको तयारी भइरहेको मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताउनुभयो ।
यसअघि उक्त आयोजनामा समावेश हुन न्यूनतम २० रोपनी जग्गा चाहिने प्रावधान थियो । आयोजनामार्फत फलफूल खेतीका लागि बिउविजन, सिँचाइ, यान्त्रीकरण आदिमा ५० प्रतिशत अनुदान दिने गरिएको छ । कार्यविधिअनुसार मापदण्ड पु¥याएर आउने कृषि समूह, सहकारी र कृषि फार्मले अनुदान पाउने गरेका छन् ।
प्रतिस्पर्धाबाट छनोट हुनुपर्ने नभएकाले मापदण्ड पुग्ने सबै अनुदानमा समेटिने गरेका हुन् । क्षेत्रफल र फलफूल बालीअनुसार अनुदान फरकफरक रहेको मन्त्रालयले जनाएको छ । बागवानी क्षेत्र व्यवस्थापनसँगै किसानलाई व्यावसायिक फलफूल खेतीतर्फ आकर्षिक गर्न यस आयोजनाबाट टेवा पुग्ने विश्वास लिइएको छ ।
