• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday
  • Unicode Converter

मोबाइल नदिएको निहुँमा साथीको हत्या

बागलुङ, १० साउन

मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापालाई उनकै साथीहरुले कुटपिट गरी हत्या गरेको खुलेको छ । यही साउन १ गते सोही ठाउँका असिम वनको जन्मदिन मनाउन गएका थापाको बिहीबार स्थानीय मनखोलामा शव फेला परेको थियो । घटनामा संलग्न रहेको आरोपमा २० वर्षीय रेमबहादुर विक, १९ वर्षीय सुदीप विक, १६ वर्षीय असिम वन र १५ वर्षीय ददी परियारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जन्मदिन मनाउने क्रममा साथीहरु मिलेर राति अबेरसम्म मदिरा सेवन गरेको र घर फर्कने क्रममा मोबाइलको विषयमा झगडा हुँदा कुटपिट गरीको थापाको हत्या गरिएको पाइएको कार्यालयका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईँले बताउनुभयो । “लजिन थापासँग रहेको आइफोन मोबाइल माग्दा नदिएपछि उनीहरुबीच एकापसमा झगडा भएको देखिन्छ”, उहाँले भन्नुभयो, “कुटपिटबाट बेहोश भएका लजिनको मृत्यु भएपछि घटनास्थलदेखि झण्डै आधा घण्टा दुरीमा शव लुकाएर राखेको अवस्था भेटिएको छ ।”

जन्मदिन मनाउने क्रममा सात जना रहेपनि अरु घरतर्फ लागेपछि रेमबहादुर र ददी लजिन थापालाई पछ्याउँदै गएर एकान्तस्थलमा पुगी आक्रमण गरेको प्रहरी उपरीक्षक प्रसाईँले बताउनुभयो । साउन १ गत राति साढे दुई बजेसम्म लजिनका साथीहरु मिलेर स्थानीय दगातुम्डाँडा प्राथमिक विद्यालयमा बसी मदिरा सेवन गरेको प्राररम्भिक अनुसन्धानबाट खुलेको उहाँको भनाइ छ । जन्मदिन मनाउने क्रममा एक जना नौ वर्षीय बालकसमेत सहभागी रहेको प्रहरीले जनाएको छ ।

हप्तादिनसम्म लजिनको अवस्था पत्ता नलागेपछि प्रहरीले प्राविधिक विज्ञ, तालिमप्राप्त कुकुर, ड्रोन क्यामेरालगायतको सहयोगबाट खोजतलास गरेको थियो । नियन्त्रणमा लिएकाहरुलाई व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंको धुम्बाराहीस्थित साइपल कलेजमा कक्षा ११ मा अध्ययनरत लजिन केही समयअघि घर आएका थिए । साथीको जन्मदिन मनाउन गएका उनी आफ्नै साथीहरुबाट हत्याको सिकार भएका छन् ।