• २०८३ कार्तिक ६, बिहीबार
  • 2026 October 22, Thursday
  • Unicode Converter

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण

बागलुङ, ९ साउन

धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी एकीदशीका अवसरमा शनिबार एक सय आठ तुलसी रोपण गरिएको छ । बागलुङ नगरपालिका-४ स्थित निरयघाटलाई मानवसेवा धाम बनाउने उद्देश्य अन्तर्गत एक सय आठ मठमा तुलसी रोपिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख अम्मरबहादुर थापा, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलगायतको उपस्थितिमा तुलसी रोपण गरिएको हो । भक्तजन र शुभेच्छुकहरूबाट प्रति मठ रू। १० हजार पाँच सय सहयोग लिई तुलसी रोपण गरिएको मानवसेवा धाम विकास समितिका सचिव युक्तप्रसाद सुवेदीले बताउनुभयो ।

ऐतिहासिकस्थल निरयघाटलाई मानवसेवा धामका रूपमा विकास गर्न गुरूयोजना बनाएर काम सुरू गरिएको मानवसेवा आश्रमका अध्यक्ष अधिकारीले बताउनुभयो । बागलुङ नगरपालिका प्रमुख श्रेष्ठले निरयघाटलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न नगरपालिकाले मानवसेवा आश्रमसँगको सहकार्यलाई अगाडि बढाएको बताउनुभयो ।

सोहीस्थानमा अहिले मानवसेवा आश्रमको भवन पनि निर्माणाधीन अवस्थामा रहेको छ । केही दशकअघिसम्म निरयघाटमा हरिबोधनी एकादशी पर्वमा ठूलो मेला लाग्ने गरेकामा अहिले उक्त मेला लोप भइसकेको छ । नगरपालिकालगायतको साझा प्रयासमा पुनस् सो ठाउँको महिमालाई पुनस्जागृत गर्न पहल अगाडि बढेको हो । निरयघाटमा लक्ष्मीनारायण, जंगेश्वर महादेव मन्दिर, विभिन्न आश्रमलगायत धार्मिक महत्वका स्थलहरू छन् ।

हरिशयनी एकादशीमा तुलसी रोपण तय गरिएपछि निरयघाटमा बिहानैदेखि भक्तालुहरूको चहलपहल बढेको थियो । कालीगण्डकी स्नानका लागि पनि भक्तजनहरू त्यहाँ जाने परम्परा छ । भजनकीर्तनसहिस उल्लासमय वातावरणमा एकसाथ आठ सय मठमा तुलसी रोपण गरिएको थियो ।

हिन्दु धर्मा तुलसीलाई भगवान विष्णुको प्रिय स्वरूप तथा पवित्रताको प्रतीक मानिन्छ । घर–आँगनदेखि मन्दिरसम्म तुलसी रोप्ने परम्पराले आध्यात्मिक शान्ति, धार्मिक आस्था र वातावरण संरक्षणको सन्देश दिने गरेको छ । हरिशयनी एकादशीदेखि चातुर्मास प्रारम्भ हुने भएकाले यस अवधिमा तुलसी रोपण, पूजा–आराधना र संरक्षण गरेमा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।