• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

पोखरा, ७ साउन

अन्नपूर्ण संरक्षण क्षेत्रमा घुमफिरका क्रममा गत आवमा २५ पर्यटकको लेक लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा १२ जना नेपालीसहित नौ जना भारतीय, जापान, मेक्सिको, स्पेन र सिङ्गापुरका एक÷एक जना नागरिक रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । मुस्ताङमा १५ जना, मनाङमा आठ जना, अन्नपूर्ण आधार शिविरमा एक जना र मर्दी हिमालमा एक जनाको मृत्यु भएको हो । मृत्यु भएका नेपालीमध्ये चार जना पथप्रदर्शक र भरिया रहेको आयोजना प्रमुख डा रविन कडरियाले जानकारी दिनुभयो ।

पदत्रायाका क्रममा लडेर र अन्य दुर्घटनाका कारण सोही अवधिमा पाँच जना पर्यटकले ज्यान गुमाएको उहाँको भनाइ छ । तीमध्ये दुई भारतीय पर्यटकको मनाङको पदयात्राका क्रममा भारी हिमपात हुँदा मृत्यु भएको थियो । एक जना अष्ट्रेलियन पर्यटकको मनाङको हिमलुङ हिमाल चढेर फर्कने क्रममा ज्यान गएको गएको हो । मर्दी हिमालको पदयात्राका क्रममा एक जना नेपाली पदयात्री र जर्मनी नागरिकको म्याग्दीको खोप्रा लेकमा पदयात्राका क्रममा मुत्यु भएको थियो ।

अधिकांश लेक लाग्ने घटना मुस्ताङ र मनाङको उपल्लो भेगमा हुने गरेका छन् । आव २०८१÷०८२ मा १९ र आव २०८०÷०८१ मा यस क्षेत्रमा २१ जना पर्यटकको लेक लागेर मृत्यु भएको थियो । सडकमार्ग भएर मुक्तिनाथ दर्शनका लागि जाने नेपाली र भारतीय पर्यटकमा लेक लाग्ने समस्या बढी देखिने गरेको आयोजना प्रमुख डा कडरियाले बताउनुभयो ।

“हिमाली तथा उच्च पहाडी भेगको यात्रामा जाँदा एकैपटकमा धेरै उचाइमा पुग्न हुँदैन, विश्राम लिँदै जानुपर्छ”, उहाँले भन्नुभयो, “लेक लागेको लक्षण अनुभव भएमा तत्कालै कम उचाइ भएको ठाउँमा फर्किहाल्नुपर्छ ।” पदयात्रामा क्रममा लडेर मृत्यु हुने गरेका घटना पनि बर्सेनि दोहोरिने गरेका छन् । लामो दुरीको पदयात्रामा निक्कँदा एक्लै नगई समूहमा या पथप्रदर्शक लिएर मात्र जानुपर्ने उहाँको भनाइ छ ।

कम उचाइ भएको ठाउँबाट गाडीमा एकैपटकमा मुक्तिनाथलगायत उच्च भेगमा पुग्दा लेक लाग्ने समस्या देखिने गरेको छ । स्थानीय हावापानीसँग अनुकूलन हुँदै विश्राम लिँदै यात्रा गर्नु नै लेक लाग्ने समस्याबाट बच्ने उत्तम उपाय रहेको पथप्रर्दशक दिवस गुरुङको भनाइ छ । उहाँले पदयात्रा गर्ने पर्यटकलाई एक दिनमा पाँच सयभन्दा बढीको उचाइ पार नगर्न सुझाउनुभयो । शारीरिक, मानिसक स्वास्थ्य र तन्दुरुस्तीसहित पदयात्रामा जानुपर्ने उहाँको भनाइ छ ।