• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

जैमिनीको कृषि सहकारीद्वारा फापर र कोदोको पिठो ब्रान्डिङ

बागलुङ, ६ साउन

आदानप्रदान कृषि सहकारी संस्था लिमिटेड, जैमिनी नगरपालिका–१० राङखानीले स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले फापरको पिठो र कोदोको पिठो प्रशोधन, लेबलिङ तथा प्याकेजिङ गरी बिक्री–वितरण सुरु गरेको छ।

जिल्ला कृषि विकास कार्यालयको ७५ प्रतिशत अनुदान सहयोगमा लेबलिङ तथा प्याकेजिङका लागि आवश्यक उपकरण खरिद गरेपछि उत्पादन तथा बजारीकरणको काम सुरु गरिएको सहकारीका लेखा समिति सदस्य मित्र थापाले जानकारी दिनुभयो। उहाँका अनुसार स्थानीय किसानले उत्पादन गरेका फापर र कोदोलाई प्रशोधन गरी गुणस्तरीय प्याकेजिङसहित बजारमा ल्याइएको हो।

थापाले स्थानीय उत्पादनको लागत तुलनात्मक रूपमा बढी हुने र बाहिरबाट आयात हुने समान प्रकृतिका वस्तुहरू सस्तो मूल्यमा बजारमा उपलब्ध हुने भएकाले स्थानीय उत्पादनको मूल्य निर्धारण र बजार व्यवस्थापन नै मुख्य चुनौती रहेको बताउनुभएको छ ।

सहकारीले फापरको पिठो प्रतिकेजी २६० रुपैयाँ तथा कोदोको पिठो प्रतिकेजी १६० रुपैयाँ मूल्य निर्धारण गरेको छ। सहकारीका अध्यक्ष नन्दलाल पाध्यायले स्थानीय स्तरमा उत्पादन गरिएका फापर र कोदो स्वास्थ्यका दृष्टिले अत्यन्तै राम्रो भए पनि आयातित वस्तुहरू सस्तो मूल्यमा उपलब्ध हुने भएकाले स्थानीय उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न कठिनाइ हुन सक्ने बताउनुभयो । उपभोक्ताले स्थानीय उत्पादनको महत्व बुझेर प्रयोग बढाए यसको उत्पादन बृद्वि गरिने उहाँको भनाइ छ ।

सहकारीले पहिलो चरणमा ५० केजी कच्चा पदार्थबाट प्रशोधन, प्याकेजिङ र उत्पादन सुरु गरेको जनाएको छ। हाल दुई जना कर्मचारी तथा सहकारीका पदाधिकारी र सदस्यहरूको सहभागितामा उत्पादन सुरु गरिएको हो ।