बागलुङ, ५ साउन
वर्षाले सडक बिग्रँदा पर्यटकीय क्षेत्र ढोरपाटनको आवातजावतमा स्थानीयवासी र पर्यटकले सास्ती खेप्न बाध्य भएका छन् । सालझण्डी–ढोरपाटन सडक अन्र्तगत बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित फल्लेघरदेखि देउरालीसम्मको तीन किमि सडक अस्तव्यस्त बनेको वडाध्यक्ष खिमबहादुर घर्तीले बताउनुभयो । निर्माण कम्पनीले बर्खायाममा सडक विस्तारको काम गरेपछि समस्या निम्तिएको उहाँको भनाइ छ ।
“पानी पर्नासाथ पहिरा खस्ने, सडक हिलाम्मे भएर यातायात अवरुद्ध हुने गरेको छ, वर्षायामभरि यो समस्या रहिरहने देखिएको छ”, वडाध्यक्ष घर्तीले भन्नुभयो, “यो बेलामा सडक खन्ने काम नै गलत भयो, हामीले भन्दाभन्दै पनि निर्माण कम्पनीले बेवास्ता गर्दा यो समस्या आएको हो ।” सोही वडाको सुकुरदुममा सोमबार पहिरो खस्दा पोखरादेखि पर्यटक लिएर ढोरपाटन जाँदे गरेको जिप पहिरोमा पुरिएको उहाँले जानकारी दिनुभयो ।
उक्त घटनामा कुनै मानवीय क्षति भने नभएको वडाध्यक्ष घर्तीेले बताउनुभयो । पहिरो पन्छाएर जिप निकाल्ने र सडक सुचारु गर्ने प्रयास भइरहेको उहाँको भनाइ छ । बुर्तिबाङदेखि फल्लेघरसम्म २८ किमि सडक ग्राभेल भएपनि ढोरपाटन उपत्यका जोड्ने बाँकी तीन किमि खण्ड जीर्ण र अस्तव्यस्त छ । विसं २०६६ देखि निर्माण सुरु भएको सालझण्डी–ढोरपाटनअन्तर्गत बागलुङ खण्डको काम सुस्त गतिमा भइरहेको छ । समयमा सडक नबन्दा हरेक बर्खायाममा ढोरपाटनको यातायात सेवा प्रभावित हुने गरेको छ ।
ढोरपाटनका पर्यटन व्यवसायी शिवराज कँडेलले पर्यटकको चहलपहल हुने मुख्य याममै सडक बिग्रँदा व्यवसायीहरु चिन्तित रहेको बताउनुभयो । “सडकले धेरै समस्या पारेको छ, यही कारणले गत वर्षभन्दा अहिले कम पर्यटक आइरहेका छन्”, उहाँले भन्नुभयो, “सडक, सञ्चारलगायतको असुविधाका कारण ढोरपाटनको पर्यटनलाई असुर पु¥याइरहेको छ, यसमा सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।”
पछिल्लो समय पर्यटकले मनसुन पदयात्राका लागि ढोरपाटन क्षेत्रलाई रोज्ने गरेका छन् । यहाँको उच्च पहाडी भेगका पाटन र खर्कमा फूल्ने बुकीफूल, भेँडीगोठ, लेकाली जनजीवन, वर्षात्मा हरियै देखिने डाँडापाखा आदि नियाल्न पर्यटकहरु यो याममा ढोरपाटन पुग्ने गर्छन । चार हजार मिटरमाथिसम्म विशाल क्षेत्रमा फैलिएका हरिया पाटन र खर्कले यो याममा आकर्षण थप्ने गरेका छन् ।
ढोरपाटन उपत्यका पनि यतिबेला रङ्गीचङ्गी भुइँफूलले सजिएको छ । वनफूलले ढाकिएको उपत्यकामा घोडा सयर गर्न पाउनु ढोरपाटनको अर्को आकर्षण हो । यस क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेपछि आतिथ्य सेवामा लगानी पनि बढीरहेको छ । सडकसहित अन्य पूर्वाधार स्तरीय र व्यवस्थित हुन सके ढोरपाटन क्षेत्रले पर्यटनबाट मनग्य लाभ लिन सक्ने देखिन्छ ।