• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

गण्डकीका तीन अदालतमा जलेका ३३ सय मिसिल पुनः प्राप्ति

पोखरा, ४ साउन

गत वर्ष भदौ २४ गते उच्च अदालत पोखरा, कास्की जिल्ला अदालत र तनहुँ जिल्ला अदालतमा भएको आगजनीका कारण जलेका छ हजार एक सय २६ थान मिसिलमध्ये ३३ सय सात थान मिसिल पुनः प्राप्त भएका छन् ।

उच्च अदालत पोखरामा जलेर नष्ट भएका दुई सय ५७ मध्ये दुई सय ५० थान र कास्की जिल्ला अदालतमा नष्ट भएका दुई हजार ६५ थान मिसिलमध्ये १९ सय ८९ थान मिसिल पुनः प्राप्त भएको उच्च अदालत पोखराले जनाएको छ ।

यस्तै तनहुँ जिल्ला अदालतमा जलेर नष्ट भएका ३८ सय चार थान मिसिलमध्ये एक हजार ६८ थान पूर्ण रुपमा र १५ थान मिसिल आंशिक रुपमा प्राप्त भएको उच्च अदालतका उप–रजिष्ट्रार निलप्रसाद पनेरुले जानकारी दिनुभयो ।

जिल्ला सरकारी वकिलको कार्यालय र मुद्दाका सम्बन्धित पक्षबाट पुनः प्राप्त भएका मिसिललाई प्रमाणीकरण गरिएको उहाँको भनाइ छ । उच्च अदालतका सात, कास्की जिल्ला अदालतका ७६ र तनहुँ जिल्ला अदालतका २७ सय ५१ थान मिसिल प्राप्त हुन बाँकी रहेको जनाइएको छ । मिसिलको अध्ययन र प्रमाणीकरणका लागि छुट्टै टोली गठन गरिएको छ ।

“आगलागीका कारण नष्ट भएका मिसिलका कागजात बुझाउन आव्हान गरेको छौँ, चालु मुद्दामा मिसिल नभई फैसलाको प्रकृया नै अगाडि बढ्दैन”, उहाँले भन्नुभयो, “फैसला भइसकेका मुद्दाका पनि मिसिल प्राप्त गरी त्यसको सत्यसत्य छानबिन गरी प्रमाणीकरण गरेर राख्ने गरिएको छ ।”

उहाँले मिसिल पुनः प्राप्त हुने क्रम जारी रहेकाले संख्यामा केही घटबढ हुन सक्ने बताउनुभयो । पुनरावेदनका लागि सर्वोच्च पठाइएका मुद्दाका मिसिल सर्वोच्च अदालतमै जलेका कारण नष्ट भएका उच्च अदालतमा मिसिलको संख्या थप बढ्ने देखिएको उप–रजिष्ट्रार पनेरुको भनाइ छ ।

आगजनीमा परी नष्ट भएका मिसिल प्राप्तिका लागि सर्वोच्च अदालतले बनाएको मिसिल कागजातको प्राप्ति र प्रमाणीकरण सम्बन्धी निर्देशिका अनुसार मिसिल पुनः प्राप्त गरिएको हो । गत वर्ष भदौ २३ र २४ गते भएको ‘जेन्जी’ आन्दोलनका क्रममा अदालतहरुमा आगजनी हुँदा मुद्दाका मिसिलसहित महत्वपूर्ण अभिलेख जलेर नष्ट भएका थिए ।