• २०८३ आश्विन २०, मङ्गलबार
  • 2026 October 06, Tuesday
  • Unicode Converter

गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात सेवा बन्द गरिने

पोखरा, २ साउन

जल तथा मौसम विज्ञान विभागले शनिबार र आइतबार गण्डकी प्रदेशको पहाडी भू–भागमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेसँगै प्रदेशका आठ जिल्लामा रात्रिकालीन यातायात सेवा बन्द गरिने भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा शनिबार जारी सूचनामा गण्डकीका कास्की, गोरखा, लमजुङ, स्याङ्जा, तनहुँ, बागलुङ, पर्वत, म्याग्दीमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइने उल्लेख छ । प्राधिकरणले उक्त अवधिमा जरुरी नभई घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न अनुरोध गरेको छ । जुनसुकै बेला बाढीपहिरोलगायत विपद्का घटना हुन सक्ने हुँदा उच्च सतकर्ता अपनाउन र विपद् पूर्वतयारीमा जुट्न सम्बद्ध पक्षलाई अनुरोध गरिएको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले शनिबार र आइतबार कास्कीबाट छुट्ने र जिल्ला हुँदै अन्यत्र जाने रात्रिकालीन यातायात सेवा पूर्ण रुपमा बन्द गरिने जानकारी दिनुभयो । विपद् प्रतिकार्यका लागि जिल्लाका सबै संयन्त्र तयारी अवस्थामा रहेको उहाँको भनाइ छ ।