बागलुङ, १ साउन
बागलुङ नगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०८२र८३ मा दर्ता भएका तथा अघिल्लो वर्षबाट जिम्मेवारी सरेका गरी कुल ३८ विवादमध्ये ३५ वटा विवादको समाधान गरेको छ। हाल तीन वटा विवाद प्रक्रियामा रहेको न्यायिक समिति संयोजक तथा नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो।
उहाँका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१र८२ बाट आठ वटा विवाद जिम्मेवारी सरेका थिए। आर्थिक वर्ष २०८२र८३ मा दर्ता भएका विवादसहित कुल ३८ मध्ये २५ वटा मेलमिलाप प्रक्रियाबाट समाधान भएका छन् भने तीन वटा विवादमा न्यायिक समितिले फैसला गरेको छ। सात वटा विवाद तामेली तथा निवेदन फिर्ता भएका छन्। हाल दुई वटा विवाद समितिको प्रक्रियामा छन् भने एउटा निवेदन मेलमिलापका लागि सम्बन्धित वडामा पठाइएको छ।
आर्थिक वर्ष २०८२र८३ मा गाली–बेइज्जती तथा रुख हटाइपाऊसम्बन्धी सबैभन्दा बढी नौ–नौ वटा निवेदन दर्ता भएका छन्। त्यसैगरी घरजग्गा विवादका पाँच, खान–लाउन नदिएको सम्बन्धी दुई, बाटो निकासका दुई, घरबहालका दुई तथा अन्य एक वटा विवादका निवेदन दर्ता भएका छन्।
वडागत रूपमा हेर्दा वडा नम्बर ४ बाट सबैभन्दा बढी आठ वटा निवेदन दर्ता भएका छन्। वडा नम्बर ३ बाट छ, वडा नम्बर २ र १० बाट तीन–तीन, वडा नम्बर ७, १२ र १४ बाट दुई–दुई तथा वडा नम्बर १, ६, ८ र ९ बाट एक–एक वटा निवेदन परेका छन्। वडा नम्बर ५, ११ र १३ बाट भने कुनै पनि निवेदन दर्ता भएका छैनन्।
न्यायिक समितिले नगरपालिकाका १४ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरी कानुनी परामर्श तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। कानुन विषय अध्ययन गर्ने कक्षा ११ का १० र कक्षा १२ का १० गरी २० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको छ।
नगर उपप्रमुख खड्काका अनुसार न्यायिक समितिलाई कानुनसम्मत र संस्थागत बनाउन गण्डकी न्यायिक सम्मेलन बागलुङमा आयोजना गरिएको थियो। सम्मेलनमार्फत अनुभव आदानप्रदान, आपसी सम्बन्ध विस्तार तथा गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहका न्यायिक समितिको प्रोफाइल प्रकाशन गरिएको थियो। चालु आर्थिक वर्षमा पनि अद्यावधिक विवरण समेटेर न्यायिक समितिको प्रोफाइल पुनः प्रकाशन गरिने उहाँले बताउनुभयो।
