• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

पोखरामा फोहरलाई मोहरमा बदल्न छानिए १३ उद्यमी

पोखरा, ३२ असार

पोखरा महानगरपालिकामा सञ्चालित ‘रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना परियोजना’अन्तर्गत ‘बिजनेस इन्क्युबेशन कार्यक्रम’बाट १३ उत्कृष्ट उद्यमी छनोट भएका छन् । मङ्लबार र बुधबार पोखरामा आयोजित उक्त कार्यक्रमबाट ‘पोष्ट इन्क्युबेशन’ सहयोगका लागि आन्तरिक तथा बाह्य मुल्याङ्कनका आधारमा उनीहरुलाई छनोट गरिएको हो ।

‘रिसाइकलिङ र अपसाइकलिङ’मा आधारित २३ वटा उद्यम तथा व्यावसायिक प्रतिष्ठानले उक्त कार्यक्रममा भाग लिएका थिए । सहभागीले आफ्नो व्यावसायिक योजना र नवप्रर्वतनशील उत्पादनबारेको प्रस्तुतीकरण निर्णायक समितिसमक्ष प्रस्तुत गरेका थिए । उद्यमीहरुले कागज, कपडा, सिसा, कृषि अवशेष तथा जैविक फोहरबाट उत्पादन गरेका विभिन्न वस्तु तथा सामग्री प्रदर्शनीमा राखिएको थियो ।

छनोटमा परेका उद्यमीले कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा सञ्चालित उक्त परियोजनाबाट उपकरण तथा प्राविधिक सहयोग प्राप्त गर्नेछन् । ‘व्यवसाय इन्क्युबेशन कार्यक्रम’को सहजीकरण गरिरहेको ‘इम्प्याक्ट हब’ काठमाडौँका कार्यक्रम अधिकृत सजिना भण्डारीका अनुसार हिमालयन जायन्ट नेटल एण्ड डेभलपमेन्ट, क्लिनिट अपसाइकल्र्स, विद्याता हस्तकला, इको फेमेली प्रालि., ओपस डेकोर, विपुल सुवेदी, सुरुची थापा मगर, श्रीजय तुलाधर र नारायण मल्ल ठकुरी चयन हुनुभएको हो ।

यस्तै शारीरिक अपाङ्गता भएका चार जना उद्यमी ‘पोष्ट इन्क्युबेशन’ सहयोगका लागि छनोटमा परेको उहाँले जानकारी दिनुभयो । जसमा सङ्गीता कुँवर, (महिला शसक्तिकरण केन्द्र), हेमबहादुर गुरुङ, सुशील गोदार (समृद्धि एण्ड सुशान्त स्टोर्स) र सागर परियार (दुनाटपरी तथा हस्तकला उद्योग) रहनुभएको छ ।

चार महिनासम्म सञ्चालन गरिएको ‘बिजनेस इन्क्युबेशन कार्यक्रम’बाट उत्कृष्ट उद्यमी छनोट गरिएको कार्यक्रम अधिकृत भण्डारीले बताउनुभयो । कार्यक्रममा सहभागीलाई परियोजना र इम्प्याक्ट हबको आन्तरिक मुल्याङ्कनबाट ४० र बाहिरी मुल्याङ्कनबाट ६० प्रतिशत अङ्क प्रदान गरिएको उहाँको भनाइ छ । निर्णायक समितिमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पूर्वकार्यकारी निर्देशक उमेशकुमार गुप्ता, पोखरा महानगरपालिकाको वातावरण, फोहरमैला व्यवस्थापन तथा वन महाशाखाका प्रमुख प्रभात लामिछाने, व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारी तथा परियोजनाका राष्ट्रिय परियोजना प्रबन्धक यमुना सुवाल रहनुभएको थियो । समितिले नवप्रवर्तन, व्यवसायिक सम्भाव्यता, वातावरणीय प्रभाव, विस्तारको सम्भावना तथा बजार क्षमता लगायतका आधारमा मूल्याङ्कन गरी सहभागी उद्यमीहरूलाई आवश्यक सुझाव प्रदान गरेको थियो ।

छनोटमा परेका उद्यमीले पोखरामा फोहरलाई रिसाइकलिङ र अपसाइकलिङ गरी विभिन्न व्यवसाय तथा उद्यम सञ्चालन गर्ने परियोजनाका सहजकर्ता एवं महानगरको वातावरण, फोहरमैला व्यवस्थापन तथा वन महाशाखाका प्रमुख प्रभात लामिछानेले बताउनुभयो । “छनोटमा परेका उद्यमीले पोखरा महानगरपालिकाभित्र व्यवसाय स्थापना तथा विस्तारका लागि लागि प्राविधिक र उपकरण प्राप्त गर्नेछन”, उहाँले भन्नुभयो, “फोहरबाट उद्यम विकास र हरित रोजगारी सिर्जनाका लागि परियोजनाले सहयोग गर्दै आएको छ ।”

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका गण्डकी तथा लुम्बिनी प्रदेशका फिल्ड कार्यालय प्रमुख सुदीप अर्यालले परियोजनाले रिसाइकलिङ र अपसाइकलिङमा आधारित उद्यम विकास, हरित रोजगारी सिर्जना, उद्यमशीलता प्रवद्र्धन तथा पोखरामा चक्रीय अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको बताउनुभयो । उहाँले कार्यक्रममा हासिल गरेको ज्ञान, सीप र व्यावसायिक सञ्जाललाई उपयोग गर्दै आफ्नो उद्यमलाई थप विस्तार गरी हरित रोजगारी सिर्जना गर्न तथा पोखराको चक्रीय अर्थतन्त्रलाई सुदृढ बनाउन उद्यमीहरुलाई आग्रह गर्नुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फोहरलाई आयआर्जन र रोजगारीसँग जोड्न परियोजना सञ्चालन गरिएको बताउनुभयो । ‘किल्न पोखरा, ग्रिन’को अवधारणा अनुसार महानगरले फोहर व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको उहाँको भनाइ छ । महानगर प्रमुख आचार्यले पोखरा प्रदर्शनी केन्द्रमा निर्माणाधीन ग्रिन भेन्चर जोनलाई रिसाइकलिङ र अपसाइकलिङको सिकाइ केन्द्रका रुपमा विकास गरिने बताउनुभयो । जसबाट उद्यमीहरूले व्यवसाय परामर्श, प्रशिक्षण, व्यवसाय प्रवद्र्धन तथा बजार पहुँच विस्तारका लागि अवसर प्राप्त गर्ने उहाँको भनाइ छ ।

परियोजनाले सन् २०२९ सम्म पोखरामा ३० वटा रिसाइकलिङ र अपसाइकलिङमा आधारित उद्यम स्थापना तथा तीन सय भन्दा बढी हरित रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । यस्ता उद्यमहरुमार्फत स्थानीय स्तरमै फोहरलाई मूल्यवान् स्रोतका रुपमा रूपान्तरण गर्दै चक्रीय अर्थतन्त्रलाई सुदृढ बनाउने, वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने र दिगो हरित आर्थिक विकासमा योगदान पुग्ने विश्वास लिइएको छ ।
परियोजनामार्फत हालको अभ्यासः प्रयोग गर्ने र फाल्ने ‘थ्रो अवे’ को सट्टा चक्रीय अर्थतन्त्र प्रणालीमा आधारित रिसाइक्लिङ÷अपसाइक्लिङ उद्यमहरू स्थापना गरी हरित अर्थतन्त्रलाई प्रर्वद्धन गर्ने उद्देश्य लिइएको परियोजनाले जनाएको छ । हरित रोजगारी प्रर्वद्धन गर्दै ठोस फोहोरमैलाबाट सिर्जना हुने प्रदुषण तथा नकारात्मक वातावरणीय प्रभाव न्यूनिकरणमा टेवा पुग्ने जनाइएको छ । तस्बिर संलग्न छ ।