• २०८३ आश्विन २५, आइतबार
  • 2026 October 11, Sunday
  • Unicode Converter

सिवाइसीका योजना : सदस्य विस्तारदेखि डिजिटल सेवासम्म

बागलुङ, ३१ असार

सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगामी आर्थिक वर्षमा सदस्य विस्तार, डिजिटल सेवा प्रवर्द्धन, वित्तीय सहभागिता अभिवृद्धि तथा उत्पादनमूलक कर्जा विस्तारलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा संस्थाले आर्थिक वर्ष २०८३/८४ का लागि तय गरिएको नीति तथा कार्यक्रम तथा वित्तीय लक्ष्य सार्वजनिक गरेको हो।

संस्थाले नयाँ आर्थिक वर्षमा एक हजार ६२० जना नयाँ शेयर सदस्य थपेर कुल २८ हजार ७०० जना पुर्‍याउने लक्ष्य राखेको छ। त्यस्तै, अभिभावक शेयर सदस्यका १६ वर्षमुनिका एक हजार ५०० जना बालबालिकालाई आबद्ध गरी बाल बचतकर्ता संख्या आठ हजार २२० पुर्‍याउने योजना अघि सारेको छ।

कार्यक्रममा संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्माले सदस्यको आर्थिक सहभागिता बढाउन साप्ताहिक रूपमा ‘सिवाइसी कार्यक्रम’ सञ्चालन गर्दै ५५ प्रतिशत घरधुरीमा नियमित आर्थिक सहभागिता विस्तार गरिने बताउनुभयो।

उहाँले मोबाइल बैंकिङ, एटीएम, क्यूआर कोड, एसएमएस बैंकिङ तथा मिसकल रिचार्ज सेवाको विस्तार गर्दै शेयर सदस्यलाई डिजिटल सेवाको पहुँचमा पुर्‍याइने जानकारी दिनुभयो। नियमित आर्थिक सहभागिता जनाएका महिला शेयर सदस्यले आफ्नो नाममा रहेको धितोका आधारमा ऋण लिँदा प्रचलित ब्याजदरमा एक प्रतिशत छुट पाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो।

संस्थाले आगामी आर्थिक वर्षमा वित्तीय कारोबारमा पनि उल्लेख्य वृद्धि गर्ने लक्ष्य लिएको छ। लक्ष्यअनुसार शेयर पुँजी ३९ करोड १२ लाख ७५ हजार ५०० रुपैयाँ, जगेडा कोष २० करोड ७३ लाख ७५ हजार रुपैयाँ, अन्य कोष ३ करोड १७ लाख ९७ हजार ५०० रुपैयाँ, बचत १ अर्ब ८८ करोड ८७ लाख ३१ हजार २२५ रुपैयाँ, ऋण लगानी १ अर्ब ७९ करोड ७२ लाख ५० हजार रुपैयाँ तथा तरलता (नगद तथा बैंक) ६९  करोड १३ लाख ३८ हजार  रुपैयाँ पुर्‍याउने उल्लेख गरिएको छ।

यस्तै, सहकारीले ‘सिवाइसी पूर्ण सदस्य वडा’, ‘सदस्यको आँगनमा सिवाइसी’, आकस्मिक ऋण सेवा, सदस्य शिक्षा, सीपमूलक तालिम, पत्रकार भेटघाट, वित्तीय स्वास्थ्य सुधार तथा सदस्यसँग दिगो सम्बन्ध लगायतका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका सचिव नारायण रिजालले सहकारीले नियमित रूपमा आफ्ना गतिविधि सार्वजनिक गरी शेयर सदस्यलाई संस्थाको अवस्थाबारे जानकारी दिने अभ्यास प्रशंसनीय रहेको बताउनुभयो। उहाँले यस्ता गतिविधिले शेयर सदस्यमा विश्वास अभिवृद्धि हुने उल्लेख गर्दै अन्य सहकारीले पनि यस्तो अभ्यासलाई अनुसरण गर्नुपर्ने धारणा राख्नुभयो।

पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन संस्थाका सहसचिव शुभास आचार्यले गर्नुभएको थियो भने स्वागत कोषाध्यक्ष मोहनप्रसाद उपाध्यायले गर्नुभएको थियो।