• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

‘सार्वजनिक जग्गा संरक्षणमा कुनै सम्झौता हुँदैन’

पाखरा, ३० असार
पोखरा महानगरपालिकाले सोमबार पोखरा सभागृहमा आयोजना गरेको सार्वजनिक सुनुवाईमा पोखरा बसपार्क, फिर्के खोलालगायत क्षेत्रका सार्वजनिक जग्गालाई अतिक्रमणमुक्त बनाउन महानगरले खेलेको भूमिकाले चर्चा पायो । प्रश्नकर्ताले महानगरसँग सम्बन्धित कतिपय विषयमा गुनासा राखेपनि सार्वजनिक जग्गा संरक्षणमा महानगरको नेतृत्वले लिएको पहलकदमीको भने प्रशंसा गरे ।
महानगरपालिकाले हालैमात्र पोखरा बसपार्क, अमरसिँहचोक र फिर्के खोलाको अतिक्रमित जग्गा खाली गराएको थियो । कुनै बल प्रयोग नगरी सबै पक्षको सहयोग र समर्थनमा महानगरले अतिक्रमित संरचना डोजर लगाएर हटाएको थियो । कार्यक्रममा पोखराका अन्य क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनाबारे उठेका प्रश्नको जवाफ दिँदै महानगर प्रमुख धनराज आचार्यले किन्तु परन्तु भनेर सार्वजनिक जग्गा संरक्षणको अभियानबाट महानगर पछाडि नहट्ने बताउनुभयो ।
“केही समयमै महानगरले पोखरामा रहेको सार्वजनिक जग्गाको लगत विवरण सार्वजनिक गर्छ, वनक्षेत्रसमेत गरी झण्डै ८१ हजार रोपनी सार्वजनिक जग्गा रहेको प्राररम्भिक अनुमान छ”, उहाँले भन्नुभयो, “सार्वजनिक जग्गा एकिन गर्दा यदि कसैले जग्गा अतिक्रमण गरेको पाइएमा जग्गा खाली गर्न सूचित गर्छौँ, सम्बन्धित व्यक्ति÷संस्थाले खाली नगरेमा प्रकृया अनुसार महानगर आफैले अतिक्रमण हटाउँछ, यसमा कुनै सम्झौता हुँदैन ।” कनैबेला पाटन र चौरका नामले चिनिने पोखरामा अहिले खुला ठाउँ देख्न पनि मुश्किल हुन थालिसकेको उहाँको भनाइ थियो ।
महानगर प्रमुख आचार्यले महानगरका ३३ वटै वडामा खेलमैदान र उद्यान निर्माणको योजना रहेको सुनाउनुभयो । उहाँले फिर्के खोलाको खोलाघरभित्र निर्माण गरिएका एक सय ६० वटा संरचना हटाइसकिएको र अझै केही संरचना हट्न बाँकी रहेको बताउनुभयो । अँधेरी कुनादेखि गाईघाटसम्मको आठ किमि दुरीमा समेटिएको फिर्के खोलाको किनारमा  पैदलमार्ग र साइकलमार्गसहितको आकर्षक करिडोर बनाउने महानगरको योजना छ । प्रमुख आचार्यले पोखरा बसपार्कमा बसोबास गर्दै आएका सुकुम्बासीको उचित व्यवस्थापनपछि बसपार्क निर्माणको प्रकृया सुरु हुने बताउनुभयो ।
कार्यक्रमका सहभागीहरुले बसपार्कका लागि अधिग्रहण गरिएको एक सय ८७ रोपनी जग्गाकै बसपार्क बनाउनुपर्ने सुझाव दिएका थिए । प्रमुख आचार्यले बसपार्क क्षेत्रमा कतिपयको व्यक्तिगत जग्गा भएकाले तिनलाई मुआब्जा दिएर अन्यत्र व्यवस्थापन गर्न सकिएमा सबै क्षेत्रफलमा बसपार्क बन्ने बताउनुभयो । “व्यक्तिको लालपूर्जा भएको जग्गालाई मुआब्जा दिन नसकिने अवस्थामा अहिले रहेकै ठाउँमा व्यवस्थापन गर्नुपर्छ”, उहाँले भन्नुयो, “बसपार्कको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ, अतिक्रमित जग्गा सबै खाली गरेर बसपार्क बनाउँछौँ ।”
पोखरा–१ स्थित टुँडीखेलको जग्गा पनि एकिन गर्ने काम छिट्टै सुरु गरिने उहाँले बताउनुभयो । सडक, राजकुलो, चौरलगायत जुनसुकै सार्वजनिक जग्गा अतिक्रमण गर्नु कानुनी विपरीत हुने उहाँको भनाइ छ । यदि कसैले त्यस्तो जग्गामा मिचेर निजी संरचना, व्यवसाय सञ्चालन गरेको भएपनि आफै जग्गा खाली गर्न प्रमुख आचार्यले आग्रह गर्नुभयो ।
प्रश्नकर्ताले महानगरको सेवा प्रवाह, विकास निर्माणका गतिविधि आदिका विषयमा पनि प्रश्न उठाएका थिए । भूपेन्द्र गिरीले राम्रो काम गर्ने जनप्रतिनिधि र कर्मचारीलाई पुरस्कृत र गलत गर्नेलाई दण्डित गर्नुपर्ने बताउनुभयो । उहाँले सार्वजनिक ठाउँम उद्यान निर्माण गर्न महानगरलाई सुझाव दिनुभयो ।
स्थानीवासीले भरत चालिसेले फिर्के खोलाको मापदण्ड कायम हुनुपर्ने बताउनुभयो । उहाँले पोखरामा रहेका राजकुलो र नहरको जग्गा पनि अतिक्रमणमा परेको भन्दै तिनको संरक्षण गर्न माग गर्नुभयो । अर्का सहभागी प्रभात कँडेलले सार्वजनिक जग्गा मिचेर रिसोर्ट बनाउनेहरुलाई महानगरले अनदेखा गरेको जनाउँदै कानुन सबैका लागि समान रुपमा लागू हुनुपर्ने बताउनुभयो । पोखरा–१ का चन्द्रबहादुर गुरुङले एक सय ८७ रोपनी जग्गामै पोखरा बसपार्क बन्नुपर्ने धारणा राख्नुभयो । अशोक राईले सुकुम्बासीको उचित व्यवस्थापन गरेर मात्र बसपार्कको निर्माणका प्रकृया सुरु गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रविण सुवेदी, किशोर भण्डारीलगायतका सहभागीहरुले महानगरको कार्यसम्पादन, सेवा प्रवाह आदिका विषयमा प्रश्न रोखका थिए । प्रमुख आचार्यसहित जवाफदेहीका तर्फबाट सहभागीका प्रश्न र गुनासाको सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको थियो । तस्बिर संलग्न छ ।