पोखरा, ३० असार
गण्डकी प्रदेशका ११ वटै जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ । पछिल्लोपटक यही असार २५ गते नवलपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्लाका रूपमा घोषणा गरिएको प्रादेशिक जनस्वास्थ्य केन्द्रले जनाएको छ ।
केन्द्रका खोप अधिकृत एकनारायण लम्सालले छिट्टै गण्डकी प्रदेशलाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको प्रदेश घोषणा गरिने बताउनुभयो । जन्मेदेखि २३ महिनाभित्रका बालबालिकाले आवश्यक सबै खोप पाएपछि पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गर्ने गरिएको उहाँको भनाइ छ ।
पहिलो पटक विसं २०७५ मा गण्डकी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा भएपनि त्यसयता बर्सेनि हरेक स्थानीय तह, जिल्ला र प्रदेशलाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गर्ने गरिएको हो । जन्मेदेखि २३ महिना उमेर समूहका बालबालिकाले १३ प्रकारका रोगविरुद्ध लगाइने सम्पूर्ण खोप पाएपछि पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गर्ने गरिएको खोप अधिकृत लम्सालले बताउनुभयो ।