• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

पत्रकार महासंघ बागलुङको साधारणसभा सम्पन्न

बागलुङ, २६ असार

नेपाल पत्रकार महासंघ, बागलुङ शाखाको १४औँ साधारणसभा तथा २६औँ स्थापना दिवस विविध कार्यक्रमका साथ बिहीबार सम्पन्न भएको छ। स्थापना दिवसका अवसरमा रजत स्तम्भ अनावरण, ‘अबको पत्रकारिता’ पुस्तक विमोचन तथा पत्रकारितामा योगदान पुर्‍याउने पत्रकारलाई विभिन्न पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले सरकार सञ्चार क्षेत्रलाई नियमनको नाममा नियन्त्रणतर्फ उन्मुख भएको आरोप लगाउनुभयो।

पत्रकारलाई स्वतन्त्र रूपमा समाचार सङ्कलन र रिपोर्टिङ गर्न अवरोध सिर्जना गर्ने प्रयासले नागरिकको संविधानप्रदत्त सूचनाको हकसमेत प्रभावित हुने उहाँको भनाइ थियो। प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार भएकाले सञ्चारमाध्यममाथि अनावश्यक बन्देज लगाउने कुनै पनि प्रयास स्वीकार्य नहुने उहाँले बताउनुभयो। जिल्ला समन्वय समितिका प्रमुख अम्मरबहादुर थापाले प्रेस जगतले लोकतन्त्र, सामाजिक न्याय र विधिको शासनका पक्षमा खबरदारी र पैरवी गर्दै आएको बताउनुभयो । पछिल्लो समय पत्रकारिता क्षेत्र व्यावसायिक बन्दै गएपनि पत्रकारको पेशागत सुरक्षामा जोखिममा रहेको उहाँको भनाइ थियो ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले महासंघ बागलुङ शाखाले महासंघको गरिमा बढाउने गरी रचनात्मक कामहरु गर्दे आएको बताउनुभयो । महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापाले रजत वर्षलाई स्मरणीय बनाउन वर्षभरि विविध कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो। पत्रकारको क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण र प्रेस स्वतन्त्रताको पक्षमा महासंघ निरन्तर सक्रिय रहेको उहाँले बताउनुभयो।

कार्यक्रममा जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतम, पत्रकार महासंघ बागलुङ शाखाका पूर्वअध्यक्ष रामबहादुर जिसी, मुकेशचन्द्र राजभण्डारी, नरेश कँडेल, सल्लाहकार तारानाथ आचार्य, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यलगायतले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा रजत वर्ष विशेष पुस्तक ‘अबको पत्रकारिता’ विमोचनका साथै ‘रजत स्तम्भ’ अनावरण गरिएको थियो ।

महासंघमा स्थापित ‘टिका–धन क्रियाशील पत्रकारिता पुरस्कार’ नेपाल टेलिभिजनमा कार्यरत किरण आचार्य र ‘विकास पौडेल स्मृति पत्रकारिता पुरस्कार’ आदर्शसञ्चार डटकममा कार्यरत विनोद प्रतिक थापालाई प्रदान गरिएको थियो । साधारणसभाले सचिव नारायण रिजालद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष खेमराज गौतम ‘सुवास’ले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको थियो । साधारणसभामा महासंघका गतिविधि र आगामी कार्ययोजनामाथि छलफल गरिएको थियो।