• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

गण्डकी प्रदेशसभाबाट गाँजा खेती सम्बन्धी विधेयक पारित

पोखरा, २५ असार

गण्डकी प्रदेशसभाको आज बसेको बैठकले औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक पारित गरेको छ । बैठकमा सभामुख कृष्णप्रसाद धितालले विधेयक सर्वसम्मत पारित भएको घोषणा गर्नुभएको थियो ।

त्यसअघि बैठकमा विधेयक छलफलका लागि उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले प्रस्ताव राख्नुभएको थियो । छलफलमा प्रदेशसभा सदस्यहरु अशोक श्रेष्ठ, गणेशमान गुरुङ, सुशीला सिम्खडा र बिन्दु पौडेलले भाग लिनुभएको थियो ।

विधेयक पारित भएसँगै गण्डकी प्रदेशमा औषधी र औद्योगिक उत्पादनका लागि गाँजा खेती गर्ने बाटो खुलेको छ ।
विधेयकमा सरकारले तोकेको क्षेत्रमा गाँजा खेती गर्न पाइने प्रावधान छ । गाँजाको बोटमा पाइने नशालु पदार्थ ‘टिएचसी’को मात्रा ०.३ प्रतिशतभन्दा कम हुनुपर्ने व्यवस्था छ ।

गाँजा खेती गर्न चाहने व्यक्ति वा संस्थाले अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । गाँजाको बोट कटान र बिक्री गर्नुअघि त्यसको रासायनिक परीक्षण गर्नुपर्ने व्यवस्था विधेयकमा छ ।