• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

चालु वर्षमा जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत

बागलुङ, २४ असार

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्ष २०८२/८३ मा ९० प्रतिशत भौतिक र ६५.३४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जनाएको छ।

बुधबार आयोजित वार्षिक प्रगति समीक्षा तथा पत्रकार अन्तरक्रिया कार्यक्रममा कार्यालयले कुल ६ करोड ५१ लाख ८३ हजार रुपैयाँ बजेटमध्ये ४ करोड २५ लाख ९० हजार ४ सय ६८ रुपैयाँ खर्च भएको जानकारी दिएको हो।

कार्यक्रममा कार्यालय प्रमुख प्रवीण शर्माले ढोरपाटन क्षेत्रमा फैलिएको दादुरा महामारीका क्रममा २ सय ४४ जना संक्रमित भएको र प्रभावकारी व्यवस्थापन तथा उपचारका कारण सबै बालबालिका पूर्ण रूपमा निको भएको बताउनुभयो।

उहाँका अनुसार दादुरा नियन्त्रण अभियानअन्तर्गत पहिलो चरणमा ढोरपाटन नगरपालिकामा ६ हजार ७५ जना र दोस्रो चरणमा निसीखोला, तमानखोला, बडिगाड गाउँपालिका तथा गलकोट नगरपालिकामा गरी २६ हजार ३ सय ४७ जनालाई खोप लगाइएको छ।

कार्यालयले मातृ तथा नवशिशु स्वास्थ्य कार्यक्रमअन्तर्गत स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, किशोरकिशोरी लक्षित प्रजनन स्वास्थ्य शिक्षा तथा प्रजनन स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ। साथै बाल स्वास्थ्य, परिवार योजना, किशोरकिशोरी स्वास्थ्य, पोषण, एचआईभी तथा यौनरोग नियन्त्रण, क्षयरोग तथा कुष्ठरोग नियन्त्रण, नसर्ने रोग तथा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम पनि प्रभावकारी रूपमा सञ्चालन गरिएको जानकारी दिइएको छ।

यसैगरी महामारी तथा रोग नियन्त्रण, प्रयोगशाला सेवा, उपचारात्मक सेवा, नर्सिङ तथा सामाजिक सुरक्षा र स्वास्थ्य व्यवस्थापन कार्यक्रममार्फत स्वास्थ्य सेवा विस्तार तथा रोग नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताइएको छ।

कार्यालय प्रमुख शर्माका अनुसार क्षयरोग नियन्त्रण कार्यक्रमअन्तर्गत पाँच स्थानीय तहमा कृत्रिम बुद्धिमत्ता ९एआई० प्रविधिमार्फत गरिएको स्क्रिनिङमा १ हजार ३२४ जनाको परीक्षण गर्दा १० जनामा क्षयरोग पुष्टि भएको छ। खानेपानी गुणस्तर परीक्षणका क्रममा जिल्लाका विभिन्न स्थानीय तहबाट संकलित ३६९ नमुनामध्ये ७७ नमुनामा कोलिफर्म जीवाणु भेटिएको जानकारी पनि उहाँले दिनुभयो।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले सीमित बजेटका बाबजुद जनस्वास्थ्य कार्यालयले नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी प्रभावकारी काम गरेको भन्दै प्रशंसा गर्नुभयो। उहाँले आगामी दिनमा पनि कार्यालयसँग आवश्यक सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा क्षय तथा कुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले एचआईभी एड्स सम्वन्धी र कार्यालय प्रमुख प्रवीण शर्माले कार्यालयको वार्षिक प्रगति तथा स्वास्थ्य कार्यक्रमबारे प्रस्तुतीकरण गर्नुभएको थियो।