• २०८३ कार्तिक ४, मङ्गलबार
  • 2026 October 20, Tuesday
  • Unicode Converter

जुनाले पाइन् ७० वर्षमा नागरिकता

बागलुङ, २२ असार

बागलुङ नगरपालिका–८ सिगानाकी जुना परियारले ७० वर्षमा नेपाली नागरिकता प्राप्त गर्नुभएको छ। विवाहपछि श्रीमान् रोजगारीका लागि भारत गएर  घर नफर्किएको र नागरिकता नबनाइदिएका कारण उहाँ झण्डै सात दशकसम्म नागरिकताविहीन जीवन बिताउन बाध्य हुनुभएको हो।

जुनाका अनुसार विवाहपछि श्रीमान् रोजगारीका लागि भारत जानुभएको थियो ।  दोस्रो विवाह गरेर घर नफर्किएपछि उहाँको नागरिकता बनाउने प्रक्रिया अघि बढ्न सकेन। ससुराले पनि “छोरा फर्किएपछि मात्रै बुहारीको नागरिकता बनाइदिन्छु” भन्ने अडान लिएपछि उहाँ वर्षौँसम्म नागरिकताविहीन रहनुभयो।

उहाँका एक छोरा र एक छोरी छन्। दुवैको नागरिकता भने ससुराले नै बनाइदिएका थिए। हाल छोरा रोजगारीका लागि भारतमा छन् भने छोरीको विवाह भइसकेको छ।

बागलुङ नगरपालिका–८ का वडा अध्यक्ष छमबहादुर कार्कीले जुना परियारको छोरा र बुहारीसँगको नाता प्रमाणित गरी नागरिकता बनाउने प्रक्रिया अघि बढाइएको बताउनुभयो। उहाँका अनुसार जुना वडा नम्बर ८ कै सिगानामा जन्मिनुभएको हो। विवाहपछि श्रीमानले नागरिकता नबनाइदिएका कारण उहाँ लामो समयसम्म नागरिकताविहीन बन्नुभएको थियो।

यसपटक भने उहाँका छिमेकी बुद्धिविनायक कार्कीले पहल र सहयोग गरेपछि नागरिकता प्राप्त गरेको जुनाले बताउनुभयो । कार्कीका अनुसार २०६६ सालमा जुनाका श्रीमानले  बनाएको नागरिकतामा पति–पत्नीको विवरणअन्तर्गत ‘जुना परियार’ नाम उल्लेख भएको प्रमाण फेला परेको थियो। सोही आधारमा वडा कार्यालयले सिफारिस गरेपछि जिल्ला प्रशासन कार्यालयबाट नागरिकता जारी गरिएको उहाँले बताउनुभयो।

नागरिकता प्राप्त गरेपछि भावुक बनेकी जुनाले आफूले संसारकै ठूलो सम्पत्ति पाएजस्तो अनुभूति भएको बताउनुभयो। “अब नागरिकता छ। संसारभरिका सबै कुरा पाएजस्तो लागेको छ। जीवन नै पूर्ण भएको महसुस भएको छ,” उहाँले भन्नुभयो।

दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्दै आउनुभएकी जुनाले उमेरसँगै काम गर्न गाह्रो हुन थालेको बताउँदै अब वृद्धभत्ता पाउने आशा जागेको सुनाउनुभयो।

“बुढेसकालमा भए पनि नागरिकता पाएँ। अब केही न केही सहारा मिल्ने आशा लागेको छ। नागरिकता नहुँदा बुढेसकालमा झन् समस्या पो आउला भन्ने डर थियो, त्यो हट्यो,” उहाँले भन्नुभयो।

उहाँले नागरिकता नहुँदा आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न नपाएको पीडा पनि सुनाउनुभयो। “गाउँका सबै जना कति पटक चुनावमा भोट हाल्न गइसक्नुभयो, म भने कहिल्यै हाल्न पाइनँ। अब म पनि भोट हाल्न पाउने भएकी छु। गाउँमा सानो जग्गा जोडेको छु, अब त्यसलाई आफ्नै नाममा बनाउनुपर्ला ,” उहाँले भन्नुभयो।

बुद्धिविनायक कार्कीका अनुसार नागरिकता प्राप्त भएसँगै आवश्यक कागजात मिलाइएकाले जुनाले साउन महिनादेखि नियमित वृद्धभत्ता पनि पाउने व्यवस्था गरिएको छ।