• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाको ३६औँ साधारण सभा सम्पन्न

बागलुङ, २० असार

नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाको ३६औँ साधारण सभा सम्पन्न भएको छ। सभामा रेडक्रसले समाजमा पुर्‍याउँदै आएको मानवीय सेवा, विपद् व्यवस्थापन तथा सामाजिक योगदानका विषयमा चर्चा गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका सभापति सूर्यप्रसाद ढकालले रेडक्रसले समाजमा पुर्‍याएको सेवाको प्रशंसा गर्दै आगामी दिनमा पनि मानवीय सेवामा निरन्तर सक्रिय रहनुपर्ने बताए। उनले शाखामा सञ्चालनमा रहेका एम्बुलेन्स पुराना भइसकेकाले नयाँ एम्बुलेन्स खरिदको आवश्यकता औंल्याउँदै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन अस्पतालसँग समन्वय गरेर सञ्चालन गर्न सुझाव दिए।

कार्यक्रममा शाखाका मन्त्री भुवानीप्रसाद कडेलले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष जीवननाथ आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

साधारण सभामा पूर्वअध्यक्ष जब्बरबहादुर लामेछाने, गण्डकी प्रदेशका पूर्वसदस्य हिमाल शर्मा, गलकोट नगरपालिका समन्वयकर्ता रामबहादुर खत्री, बेलबगर उपशाखाका सभापति लक्ष्मीकान्त पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। जिल्ला उपसभापति राजेन्द्र आचार्यले धन्यवाद मन्तव्य राखेका थिए।

नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका सभापति जगन्नाथ आचार्यको अध्यक्षता तथा मन्त्री भुवानीप्रसाद कडेलको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा रेडक्रसले विपद्का बेला उद्धार, राहत तथा समाजका विभिन्न सकारात्मक कार्यमा सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य गर्दै आएको उल्लेख गरिएको थियो।