पोखरा, २० असार
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकीद्वारा शनिबार पोखरामा आयोजित ‘गण्डकी प्रेस समिट’को उद्घाटन सत्रमा उहाँले सरकारको नेतृत्वमा जुनसुकै दल भएपनि प्रेसको स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताउनुभयो ।
“प्रेस जगत स्वतन्त्र हुनुपर्छ त्यसमा दुईमत छैन, पत्रकारिता पनि सत्यतथ्यमा आधारित, विश्वसनीय र जवाफदेही हुनुपर्छ”, उहाँले भन्नुभयो, “सामाजिक संजाल र मूलधारको पत्रकारिताबारे नागरिकलाई पनि सुसूचित गर्नु जरूरी छ ।”
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले कमीकमजोरी गर्दा निर्धक्क भएर कलम चलाउन आग्रह गर्नुभयो । उहाँले आफू व्यक्तिगत हिसाबले पनि सँधै प्रेस स्वतन्त्रताको पक्षधर रहेको बताउनुभयो ।
मिडिया समिटमा ‘मिडियाको अर्थतन्त्र’ र ‘पत्रकारितामा एआइ’ विषयमा बहसमूलक सत्र संचालन गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका अग्रज पत्रकारहरूलाई सम्मान गरिएको थियो । सोही अवसरमा ‘हाम्रो समयको पत्रकारिता’ पुस्तक पनि विमोचन गरिएको थियो ।