बागलुङ, १८ असार
घुम्टे युवा परिवार जापानद्वारा आयोजित चौँथो सिल्भर रनिङ कप भलिबल प्रतियोगिताबाट बचत भएको रकमबाट गलकोटका पाँच सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरिने भएको छ ।
जापानको ओसाकामा हालै सम्पन्न भएको उक्त प्रतियोगिता खेलकुदसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रमा सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको थियो । सोही उद्देश्य अन्तर्गत गलकोट नगरपालिका–७ मल्मका पाँच सामुदायिक विद्यालयमा रु.५० हजारका दरले अक्षयकोष स्थापना गर्ने निर्णय गरिरएको घुम्टे युवा परिवार जापानका सचिव प्रकाश केसीले जानकारी दिनुभयो ।
जनहित माध्यममिक विद्यालय, दीपज्योति आधारभूत विद्यालय, प्रगति आधारभूत विद्यालय र नेटा प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना गरिने भएको हो । आगामी दिनमा अक्षयकोषको रकम वृद्धि गर्दै लैजाने योजना रहेको संस्थाका अध्यक्ष नारायण थापाले बताउनुभयो । अक्षयकोषबाट विद्यार्थीलाई आवश्यक सहयोगसँगै विद्यालयको शैक्षिक गतिविधि लाई प्रभावकारी ढंगले संचालन गर्न सहयोग पुग्ने अध्यक्ष थापाले बताउनुभयो ।