बागलुङ, १६ असार
जिल्लाको बडिगाड गाउँपालिकालाई ‘पोषणमैत्री स्थानीय शासनयुक्त गाउँपालिका’ घोषणा गरिएको छ । बडिगाड–५ ग्वालीचौरमा सोमबार आयोजित समारोहमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त घोषणा गर्नुभएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ल्याएको ‘पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि–२०८०’ ले तय गरेका ३४ वटा सूचक पूरा भएपछि बडिगाडलाई पोषणमैत्री गाउँपालिका घोषणा गरिएको हो ।
सङ्घ सरकारको सहयोगमा आव २०७९/०८० देखि गाउँपालिकाले पोषणमैत्री स्थानीय शासन कार्यक्रम कार्यान्वयनमा ल्याएको थियो । पोषणमैत्री घोषणा गर्न गाउँपालिकाका दसवटै वडामा पोषण प्रवद्र्धन तथा सुधारका गतिविधि सञ्चालन गरिएको थियो । स्वास्थ्य, शिक्षा, कृषि, पशु, खानेपानी तथा सरसफाइ, महिला तथा बालबालिका र शासकीय प्रबन्धका क्षेत्रमा तोकिएका सूचकहरु पूरा गरेपछि पोषणमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो ।
यसअघि गाउँपालिकाकाभित्रका सबै टोललाई पूर्ण सरसफाइयुत्त र स्वास्थ्यचौकी तथा वडालाई पोषणमैत्री घोषणा गरिएका थियो । पोषणमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणका लागि शिक्षातर्फका सूचकमा स्थानीय तहमा रहेका सबै स्वास्थ्य संस्था पोषणमैत्री हुनुपर्ने, चार वर्ष उमेर पुगेका सबै बालबालिका प्राररम्भिक बालविकास केन्द्रमा भर्ना भएको हुनुपर्ने, बालविकास केन्द्रका सहजकर्ता पोषण सम्बन्धी तालिम लिएको हुनुपर्ने, स्थानीय पाठ्यक्रममा पोषण र बाल अधिकार सम्बन्धी विषय राख्नुपर्ने व्यवस्था छ ।
यस्तै विद्यालयको दिवा खाजामा पोषणयुक्त खाद्यवस्तु प्रयोग गर्ने र पोषण सप्ताह मनाउनुपर्ने उल्लेख छ । महिला तथा बालबालिकातर्फ न्यायिक समिति, प्रहरी र एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा दर्ता भएका लैङ्गिक हिंसाका घटनामध्ये ८० प्रतिशत मुद्दा पछ्र्योट हुनुपर्ने, महिनाबारी हुँदा जोखिमयुक्त स्थानमा राख्ने घरधुरीको संख्या शून्य हुनुपर्ने र २० वर्ष उमेर नपुग्दै बच्चा जन्माउने महिलाको संख्या शून्य हुनुपर्नेलगायतका सूचक रहेका छन् । खानेपानी तथा सरसफाइतर्फ सत प्रतिशत घरधुरीमा आधारभूत खानेपानी सेवा पुग्नुपर्ने, सबै घरधुरीमा आधारभूत सरसफाइ सेवालगायतका सूचक तोकिएको छ ।
कृषितर्फका सूचकमा करेसाबारीमा तरकारी र फलफूल लगाउने घरधुरीको संख्या ८० प्रतिशत, अन्न, गेडागुडी, हरियो तरकारी र फलफूलको नियमति उपभोग गर्ने घरधुरी ८० प्रतिशत, रैथाने बाली प्रवद्र्धन सम्बन्धी कार्यक्रम, खाद्य सुरक्षा र गुणस्तर परीक्षणका लागि बजार अनुगमन हुनुपर्नेलगायत छन् । यस्तै पशुपन्छी पालन गरी उपभोग गर्ने घरपरिवारको संख्या ८० प्रतिशत, दूधजन्य पदार्थ उपभोग गर्ने परिवारको संख्या ८० प्रतिशत हुनुपर्ने र पशुजन्य खाद्यवस्तुमा मासु वार्षिक १४ किलो, दूध ९१ लिटर र अण्डा एक सय ५० वटा उपलब्ध हुनुपर्ने उल्लेख छ ।
स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा गर्न छुट्टै १६ वटा सूचक पूरा गर्नुपर्ने व्यवस्था छ । जसमा गर्भवती महिलाको नियमित स्वास्थ्य जाँच गर्नुपर्ने, तोकिएको मात्रामा आइरन फोलिक चक्कीको प्रयोग गर्नुपर्ने, स्वास्थ्य संस्थामा प्रसूति हुनुपर्नेलगायत सूचक राखिएको छ । बडिगाडले यी सबै सूचक पूरा गरेपछि पोषणमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गरिएको हो ।
पोषणमैत्री घोषणासँगै मुख्यमन्त्री पाण्डेले बडिगाड आधारभूत अस्पतालको नवनिर्मित भवनको उद्घाटनसमेत गर्नुभएको थियो । उक्त समारोहमा गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जितबहादुर शेरचन, गण्डकी प्रदेशसभाका उपसभामुख बिनाकुमारी थापा, जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापालगायत विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।
