• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

घट्दै रोपाइँको क्षेत्रफल

गण्डकी प्रदेशमा धान रोपाइँको क्षेत्रफल बर्सेनि घट्दै गएको पाइएको छ । चार वर्षअघि ९७ हजार सात सय ६९ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको थियो । त्यसपछिको वर्ष रोपाइँको क्षेत्रफल घटेर ९६ हजार ५३ हेक्टरमा समेटियो ।

गत आवमा ९४ हजार एक सय ८२ हेक्टरमा रोपाइँ भएकामा यस वर्ष जम्मा ९३ हजार छ सय छ हेक्टरमा रोपाइँ हुने अनुमान प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गरेको छ ।

जग्गा खण्डीकरण, बाँझो छाड्ने प्रवृत्ति र खेतीयोग्य जमिनमा बस्ती तथा पूर्वाधार विकासले गर्दा धान खेतीको क्षेत्रफल घट्दै गएको मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ शशी अधिकारीले बताउनुभयो । उहाँका अनुसार गण्डकीमा हालसम्म हालसम्म दसमलब २४.९० प्रतिशत रोपाइँ सकिएको छ । गत वर्ष यही अवधिमा २८.२० प्रतिशत रोपाइँ भएको थियो । हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धान खेती हुँदै आएको छ ।

क्षेत्रफल घटेपनि समयमै वर्षात् र रासयनिक मलको उपलब्धता, धानमा प्रकोपजन्य रोग नलाग्नु, सिँचाइ सुविधा, उन्न बिउविजन आदि कारणले धानको उत्पादकत्व भने वृद्धि हुने गरेको छ । प्रतिकुल मौसम, मल अभाव, कमसल बिउविजन जस्ता कारणले धानको उत्पादकत्वमा ह्रास आउने कृषि अर्थ विज्ञ अधिकारीले बताउनुभयो।

प्रदेशको कूल चार लाख ७९ हजार छ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी झण्डै एक लाख हेक्टरमा धान खेती हुने गरेको छ । नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धान खेतीको क्षेत्रफल बढी छ ।

गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानको पकेट क्षेत्र हुन् ।

यस्तै पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ । गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धान खेती गरिन्छ ।