बागलुङ, १५ असार
गलकोट नगरपालिका–७ मल्मको वडा कार्यालय आँगाखेतबाट म्यालेमा स्थानान्तरण गरिएको छ । सोमबारदेखि नवनिर्मित भवनबाट वडाको प्रशासनिक सेवा सुरु भएको वडाध्यक्ष राज थापाले बताउनुभयो । यही असार ९ गते बसेको १९औँ नगर अधिवेशनको दुई तिहाई बहुमतले वडाको केन्द्र स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।
वडाबासीलाई पायक पर्ने स्थानमा वडा कार्यालय सारिएको हो । यसअघि साविक मल्म गाविस हुँदा बनेको भवनबाट वडा कार्यालय सञ्चालन हुँदै आएको थियो । राज्यको पुनःसंरचना हुँदा मल्म गाविसलाई टुक्राएर दुई वडा बनाइएको थियो । वडा विभाजन हुँदा ७ नं। वडाको कार्यालय अपायक पर्ने ठाउँमा रहेको भन्दै स्थानीयवासीले वडाको केन्द्र सार्नुपर्ने माग गर्दै आएका थिए ।
साढे तीनवर्षअघि मापदण्ड अनुसारको जग्गा व्यवस्थापन गरी म्यालेमा वडा कार्यालय भवन निर्माणको प्रकृया सुरु गरिएको थियो । पूर्ववडाध्यक्ष स्व। टिकाबहादुर थापा र स्थानीय हर्कबहादुर थापाले झण्डै छ रोपनी जग्गा वडालाई निःशुल्क प्रदान गर्नुभएको थियो । सर्वपक्षीय÷सर्वदलीय निर्णयबाट विसं २०७७ देखि नै वडा कार्यालयका लागि जग्गा व्यवस्थापनको काम अगाडि बढेको थियो ।
स्थानीय सीप र स्रोतसाधनको प्रयोग गरेर मौलिक रुवरुपमा वडा कार्यालय भवन निर्माण गरिएको भवन निर्माण समितिका अध्यक्ष दलबहादुर थापाले बताउनुभयो । स्थानीयवासीको आर्थिक सहयोग र श्रमदान गरी झण्डै रु। २५ लाखको लागतमा छ कोठे भवन निर्माण गरिएको हो ।
वडा कार्यालय हरिचौर–मल्म–पाण्डवखानी रणनीतिक सडकको पहुँचमा रहेकाले सहजै आवातजावत गर्न सकिन्छ । गाउँको केन्द्रभाग र सबैलाई पायक पर्ने स्थानमा वडा कार्यालय सरेपछि स्थानीयवासी खुसी छन् । नयाँ ठाउँ र भवनबाट वडा कार्यालयको सेवा प्रवाह थप चुस्त र छरितो हुनेमा उनीहरु विश्वस्त छन् ।
