बागलुङ, १४ असार
यतिबेला देशभर मनसुन सक्रिय छ । वर्षायामलाई पर्यटनमा बेमौसम मानिन्छ । चल्तीका गन्तव्यमा पर्यटकीय चहलपहल घट्दो छ । तर, ढोरपाटन भने पर्यटकको स्वागतका लागि तम्तयार देखिन्छ । मनसुन पदयात्राका लागि ढोरपाटन रोजाइको गन्तव्य हो । यस याममा यहाँ पर्यटकीय गतिविधि बढ्छन् । कतिपय ठाउँमा ‘अफसिजन’ लाइसक्दा ढोरपाटनमा भने भर्खर ‘सिजन’ सुरु भएको छ ।
यही छेकोमा ढोरपाटनको दिगो पर्यटन विकासबारे नयाँ बहसको थालनी भएको छ । सिकार पर्यटनका माध्यमबाट बढी चिनिएको ढोरपाटनलाई पर्यटनका अन्य आयामसँग जोड्नुपर्ने मत बलियोसँग उठेको छ । ढोरपाटन उपत्यकामा आयोजित ‘ढोरपाटन समिट’मा नीतिनिर्मातादेखि जनसाधारणसम्मले ढोरपाटनमा दिगो पर्यटन विकासको खाँचो औँलाए । बागलुङको ढोरपाटन नगरपालिकाद्वारा आयोजित उक्त बहसमूलक कार्यक्रममा ट्रेकिङ ऐजिन्सिज एसोसियसन अफ नेपाल (टान), गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले ढोरपाटनले पर्यटनमा अथाह सम्भावना बोकेको बताउनुभयो ।
उहाँले ढोरपाटन राज्यका निकायको उपेक्षामा परेको बताउनुभयो । अन्नपूर्ण चक्रीय पदमार्गलगायत कतिपय स्थापित पदमार्ग नासिँदै र छोटिँदै गएकाले त्यसको विकल्प ढोरपाटन बन्न सक्ने उहाँको भनाइ छ । विश्वको आठौँ अग्लो हिमाल धवलागिरिको पेरिफेरी भएर ढोरपाटनको पदयात्राका लागि देशविदेशका पर्यटक भित्राउन सकिने अध्यक्ष आचार्यले बताउनुभयो । म्याग्दीको मुना, गुर्जा, जलजला, ढोरपाटनन हुँदै डोल्पा जोड्ने गरी व्यवस्थित पदमार्ग बनाउनुपर्ने उहाँको भनाइ छ । “ढोरपाटन जस्ता लुकेका गन्तव्यस्थको पहिचान र विकास गर्न सम्बद्ध सबै पक्षको ध्यान जानु जरुरी छ”, उहाँले भन्नुभयो, “ढोरपाटनमा गुणस्तरीय पर्यटन प्रवद्र्धनका लागि सोही अनुसार पर्यटन पूर्वाधार, सेवासुविधाको पहुँच, सुरक्षा र आतिथ्य संस्कार चाहिन्र्छ ।”
अध्यक्ष आचार्यले ढोरपाटन क्षेत्रको दिगो पर्यटन विकासका लागि स्थानीयवासीलाई पर्यटकीय गतिविधिमा सहभागितासँगै अपनत्त दिलाउनुपर्ने बताउनुभयो । स्थानीय बासिन्दाको आर्थिक उपाजर्न र रोजगोरी सिर्जना नभएसम्म पर्यटनले दिगो रुप नलिने उहाँको भनाइ छ । पर्यटन पत्रकार अमृत भादगाउँलेले सिकारबाहेक पनि ढोरपाटनले पर्यटन विकासको प्रचुर सम्भावना बोकेको बताउनुभयो । उहाँले पशुपक्षीको अधिकारका दृष्टिले पनि ढोरपाटनमा हुने सिकार गतिविधि उपयुक्त नदेखिएको धारणा राख्नुभयो ।
“विश्वभर पशु कल्याणको बहस उठिरहेको छ, पशुपक्षीमाथि हुने हत्याहिंसाका घटनाको विरोध हुने गरेको छ”, भादगाउँलेले भन्नुभयो, “ढोरपाटनमा भइरहेको वैधानिक सिकार लामो समय नरहन पनि सक्छ, तसर्थ पर्यटकहरुलाई पशुपक्षीको सिकार गर्न होइन, हेर्न आउने बनाउनुपर्छ ।” प्रकृति, संस्कृति, पर्यावरण र जैविक विविधता नै ढोरपाटनको मुख्य पर्यटकीय आकर्षण रहेको उहाँको भनाइ छ । पर्यटनबाट क्षणिक लाभमात्र नहेरी प्राकृतिक स्रोतसाधनको संरक्षणसँगै दिगो पर्यटन प्रवद्र्धनमा ध्यान दिनुपर्ने भादगाउँलेले बताउनुभयो । ढोरपाटन आउने पर्यटकको बसाइ लम्बाउने गरी योजना बनाउनुपर्ने उहाँको भनाइ छ ।
एकल पदयात्री (सोलो ट्राभलर) सिर्जना सिज्जुले ढोरपाटनको मौलिकता जोगाउने चुनौती थपिएको बताउनुभयो । “ढोरपाटन जस्तो भू–बनोटमा अवस्थित छ, नेपालमा यस्तो ठाउँ अन्त कतै छैन”, उहाँले भन्नुभयो, “यहाँको विकास र संरक्षण गतिविधिलाई सन्तुलित ढङ्गले अगाढि बढाउनुपर्छ ।” उहाँले ढोरपाटनलाई योग, ध्यानलगायत आध्यत्मिक पर्यटनको उत्कृष्ट गन्तव्यका रुपमासमेत विकास गर्न सकिने बताउनुभयो । ढोरपाटन उपत्यकामा उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणको चर्चाबीच उहाँले उक्त आयोजना बनेमा ढोरपाटनको प्राकृतिक सौन्दर्यमा आँच आउने बताउनुभयो ।
“मानवनिर्मित संरचनाले पर्यटकलाई सँधै आकर्षित गर्दैन, तर प्रकृति, संस्कृति र आतिथ्य संस्कारले पटकपटक लोभाइरहन्छ”, उहाँले भन्नुभयो, “विद्युत् निकाल्न जलाशय अन्त पनि बनाउन सकिएला, तर ढोरपाटनको यो सुन्दर पाटन न बनाउन सकिन्छ, न कतै खोजेर भेटिन्छ ।” उहाँले ढोरपाटन उपत्यकालाई आधार शिविरका रुपमा विकास गरी पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्ने बताउनुभयो । ढोरपाटनलाई ‘फूलहरुको उपत्यका’का रुपमा विकास गर्न सकिने उहाँको भनाइ छ । पूर्वाधार निर्माण र प्रचारप्रसार गर्न सकेमा ढोरपाटनमा देशविदेशका पर्यटक भित्राउन सकिने उहाँले बताउनुभयो । स्थानीय समुदायमा पर्यटन सचेतना, भौतिक स्रोतसाधन र दक्ष जनशक्तिको भने कमी छ ।
ढोरपाटन सिकार आरक्षका रेञ्जर सागर सुवेदीले सिकार आरक्षका कारण ढोरपाटन अन्तर्राष्ट्रिस्तरमा चिनिएको बताउनुभयो । उहाँले सिकार र पर्यटनलाई सँगसँगै अगाडि बढाउनुपर्ने बताउनुभयो । “सिकारबाट राज्यलाई आर्थिक रुपमा टेवा पुगिरहेको छ, अन्तर्राष्ट्रिय जगतमा ढोरपाटनलाई चिनाउन पनि यसबाट मद्दत पुगेको छ”, रेञ्जर सुवेदीले भन्नुभयो, “पछिल्लो समय ढोरपाटन घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढेको छ, सडक स्तरीय बन्दैछ, सुविधायुक्त होटल, रेष्टुराँ खुलेका छन् ।” उहाँका अनुसार गत वर्ष २५ हजारले ढोरपाटन क्षेत्र घुमेका थिए । ढोरपाटन उपत्यकामा अहिले ३९ होटल र घरबास छन् । एक रातमा १५ सय पाहुना राख्न सक्ने तिनको क्षमता छ । आरक्ष कार्यालयले स्थानीयवासीसँग मिलेर आरक्षको संरक्षणसँगै पर्यटन गतिविधि सञ्चालन गर्दै आएको रेञ्जर सुवेदीले बताउनुभयो ।
ढोरपाटन नगरपालिकाका कार्यवहाक प्रमुख कल्याण कायतले ढोरपाटन क्षेत्रको दिगो पर्यटन विकासका लागि दीर्घकालीन योजना बनाइने बताउनुभयो । उहाँले पर्यटनलाई स्थानीय संस्कृति र उत्पादनसँग जोड्नुपर्ने बताउनुभयो । ढोरपाटनलाई प्राकृतिक र मौलिक स्वरुपमै रहन दिन सबै पक्ष उत्तिकै जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ छ । कार्यवहाक प्रमुख कायतले ढोरपाटनको पर्यटन विकासका लागि निजी क्षेत्रको लगानी भित्राउनुपर्ने बताउनुभयो । उहाँले आउँदो जनैपूर्णिमा पर्वमा पहिलोपटक ढोरपाटन आलु महोत्सवको आयोजना गर्न लागिएको बताउनुभयो ।
गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले ढोरपाटनमा पर्यटन पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । ढोरपाटनमा बन्ने उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना स्थानीयवासीको माग र चाहना बुझेर मात्र अगाडि बढाउनुपर्ने बताउनुभयो । “स्थानीयवासीसँग सल्लाह गरेर, उहाँहरुको चित्त बुझाएर, उचित मुआब्जा र क्षतिपूर्तिको सुनिश्चितता गरेर मात्र आयोजना निर्माणको काम सुरु गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
ढोरपाटन क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि ‘ढोरपाटन समिट’को आयोजना गरिएको कार्यक्रमको समन्वयकारी संस्था जीवन्त मिडियाका प्रबन्ध निर्देशन नवराज परियारले बताउनुभयो । कार्यक्रममा ‘ढोरपाटनको भविष्य : सिकार पर्यटन कि दिगो पर्यटन ?’ ‘प्रकृतिबाट समृद्धि’, ‘मिडिया/सोसल मिडियामा ढोरपाटनको ब्राण्डिङ’लगायत सत्रका वक्ताहरुले ढोरपाटनका पर्यटकीय सम्भावना र अवसरबारे धारणा राखेका थिए । ढोरपाटनको दिगो पर्यटन विकासका लागि विभिन्न सरकारी तथा गैरसकारी निकाय पनि लागिपरेका छन् । ‘टिडिएच’ जर्मनीको आर्थिक सहयोग र ‘बिवाईसी’ बागलुङका साझेदारीमा ढोरपाटन क्षेत्रमा साढे तीनवर्षदेखि दिगो पर्यटन प्रवद्र्धन परियोजना सञ्चालित छ ।
उक्त परियोजनमार्फत युवाहरुलाई प्राविधिक तालिमसहित होटल, कफी, बेकरी, पर्यटक पथप्रदर्शक सम्बन्धी सीपमूलक तालिम प्रदान गर्ने गरिएको छ । २८ वटा घरबासमा रु. दुई लाख ५० हजारका दरले सामग्री प्रदान गरिएको उक्त परियोजनाले जनाएको छ । पर्यटन प्रवद्र्धन तथा व्यवस्था योजना पनि निर्माण गरिएको छ । पर्यटन पूर्वाधार निर्माण र क्षमता विकास कार्यक्रमा परियोजनाले सहयोग गर्दै आएको छ । परियोजनाअन्तर्गत रु. एक करोड लागतमा पर्यटन सूचना केन्द्र पनि निर्माण भइरहेको छ । पर्या–पर्यटनको विकास गर्ने उद्देश्यले सरकारले विसं २०४४ मा ढोरपाटन सिकार आरक्ष स्थापना गरेको थियो ।
देशकै एकमात्र उक्त सिकार आरक्षमा बर्सेनि दुई याममा सिकार खेलाउने गरिएको छ । विदेशी पेशेवर सिकारीहरु महँगो शुल्क बुझाएर सिकारका लागि ढोरपाटन आउने गर्छन् । सिकारबाट आउने राजश्वबाट राज्यले केही लाभ लिने गरेपनि पर्यटनका अन्य गतिविधि पनि बढाएर ढोरपाटनलाई दिगो पर्यटन प्रवद्र्धनसँग जोड्नुपर्ने आवाज उठ्दै आएको छ । पछिल्लो समय मनसुन पदयात्राका लागि ढोरपाटन धेरैको रोजाइमा पर्न थालेको छ । चार हजार मिटरमाथिसम्म फैलिएको ढोरपाटनको बुकी क्षेत्रमा पुग्न पदयात्रीहरु लालयित हुने गरेका छन् । ढोरपाटन उपत्यकाबाट पाँच घण्टाको पदयात्रापछि बुकी पुगिन्छ ।
विशाल क्षेत्रमा फैलिएका हरिया पाटन र खर्कले मनसुन याममा बुकीको आकर्षण बढ्ने गरेको हो । बुकी जाँदा भैँसी र भेँठा गोठाको दिनचर्या पनि नियाल्न पाइन्छ । यही याममा ढोरपाटन उपत्यका पनि रङ्गीचङ्गी भुइँफूलले सजिने गरेको छ । ढकमक्क देखिएको उपत्यकामा घोडा सयर गर्न पाउनु यहाँको अर्को आकर्षण हो । फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालले पनि ढोरपाटन र बुकी क्षेत्रको प्रचारप्रसारमा व्यापक्ता ल्याएको हो । बुकीको पदयात्रामा जाने पर्यटक बढ्न थालेपछि पर्यटन व्यवसायीहरुले ‘गोठस्टे’ सुरु गरेका छन् । विशेष गरी शरद र बसन्त ऋतुमा बढी पर्यटकीय गतिविधि हुने गरेपनि ढोरपाटनलगायत केही गन्तव्यस्थल भने मनसुन पदयात्रा लागि चिनिन थालेका छन् ।