• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday
  • Unicode Converter

जैमिनीमा न्यायिक सचेतना कार्यक्रम सम्पन्न 

बागलुङ, १३ असार

जैमिनी नगरपालिकाको न्यायिक समितिको आयोजनामा समुदायमा न्यायिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तहमा न्यायसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा दुई सयभन्दा बढी जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, युवा क्लबका अध्यक्ष, विभिन्न संघ–संस्थाका प्रतिनिधि, आमा समूहका अध्यक्ष, मेलमिलापकर्ता तथा समुदायका नेतृत्वदायी व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका अध्यक्ष तथा जैमिनी नगरपालिकाका न्यायिक समिति संयोजक हरिहर शर्माले समुदायमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने व्यक्तिहरूलाई न्यायसम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। स्थानीय तहमा उत्पन्न हुने साना–ठूला विवाद समाधानका लागि समुदायस्तरका नेतृत्वकर्ताहरू नै पहिलो तहमा सक्रिय हुने भएकाले उनीहरूको क्षमता अभिवृद्धि गर्न यस्तो कार्यक्रम महत्वपुर्ण रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा उच्च अदालत पोखराका उप–रजिस्ट्रार एवं उत्प्रेरक नीलप्रसाद पनेरूले न्याय, मेलमिलाप तथा विवाद व्यवस्थापनका विषयमा सहजीकरण गर्नुभएको थियो। त्यस्तै मनोविद राजेश पौडेलले मानसिक समस्या, निराकणका विषयमा सहजीकरण गर्नुभएको थियो। सो अवसरमा जैमिनी नगरपालिकाको न्यायिक समितिले तयार पारेको ‘न्यायिक समितिको हाते पुस्तिका’ समेत सार्वजनिक गरिएको थियो।

कार्यक्रममा सहभागीहरूको तर्फबाट खिमकला राना र भवानी आचार्यले यस्ता सचेतनामूलक कार्यक्रमले स्थानीय तहमा उत्पन्न हुने विवाद तथा समस्याहरू समाधान गर्न व्यावहारिक रूपमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै उहाँहरुले आफुहरुले सम्पादन गरिरहेका काम कानुन सम्मत थिए वा थिएनन् भन्ने छुट्याउन मद्यत पुग्ने बताउनुभयो । समुदायका नेतृत्वकर्तालाई कानुनी तथा न्यायिक ज्ञानले सुसज्जित बनाउने यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा उहाँहरुको जोड दिएका थिए।

नगरका उपप्रमुख तथा न्यायिक समितिका संयोजक हरिहर शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, श्रीकृष्ण पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने न्यायिक समितिका सहजकर्ता बिनिता शर्माले स्वागत गर्नुभएको थियो ।