बागलुङ, ११ असार
बागलुङमा सामुदायिक विपद् स्वयंसेवक तालिम सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेड क्वाटर बागलुङको आयोजना तथा बागलुङ नगरपालिकाको समन्वय र सहकार्यमा सञ्चालन गरिएको १८ दिने तालिम बिहीबार एक कार्यक्रमका बीच समापन गरिएको हो।
समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक कृष्णप्रसाद आचार्यले तालिममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न सके मात्र तालिमको सार्थकता रहने बताउनुभयो। उहाँले कुनै पनि विपद् वा दुर्घटनाको समयमा समुदायका सदस्य तथा छिमेकी नै पहिलो उद्धारकर्ता हुने भएकाले यस्ता तालिमले विपद्बाट हुने क्षति न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले तालिममा सहभागी स्वयंसेवकहरूलाई प्रमाणपत्र वितरण गर्दै प्राप्त ज्ञान र सीपलाई समुदायको हितमा प्रभावकारी रूपमा प्रयोग गर्न आग्रह गर्नुभयो।
तालिममा नगरपालिकाका विभिन्न वडाका ३१ जनाको सहभागिता रहेको थियो। १० जना प्रशिक्षकको सहभागितामा सञ्चालन भएको तालिममा सहभागी स्वयंसेवकहरूलाई विपद् जोखिम न्यूनीकरण, खोज तथा उद्धार, प्राथमिक उपचार, आगलागी नियन्त्रण, आपतकालीन अवस्थामा समन्वय तथा समुदायमा आधारित विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रममा प्रशिक्षार्थी टेकबहादुर रोकाले तालिमका अनुभव सुनाउनुभएको थियो। प्रमुख जिल्ला अधिकारी आचार्यको अध्यक्षता तथा सशस्त्र प्रहरी नायब निरीक्षक कृष्णप्रसाद पौडेलको सञ्चालनमा समापन कार्यक्रम सम्पन्न भएको थियो।
