• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

गलकोट नगरपालिकाको ७४ करोड ९९ लाखको बजेट सार्वजनिक

बागलुङ, ११ असार
गलकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७४ करोड ९९ लाख ८२ हजार ७ सय ६० रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

नगरसभाको १९औँ अधिवेशनमा नगर उपप्रमुख फमलाल निउरे ले चालुतर्फ ५७ करोड ९६ लाख ५५ हजार ७ सय ६० रुपैयाँ र पूँजीगततर्फ १७ करोड ३ लाख २७ हजार रुपैयाँ गरी कुल बजेट प्रस्तुत गर्नुभएको हो।

बजेटका लागि संघीय सरकारको वित्तीय समानीकरण, राजस्व बाँडफाँड, सशर्त, विशेष तथा समपूरक अनुदान, गण्डकी प्रदेश सरकारको अनुदान, आन्तरिक राजस्व तथा चालु आर्थिक वर्षको बचत रकमलाई स्रोतका रूपमा अनुमान गरिएको छ। नगरपालिकाले आन्तरिक राजस्वबाट २ करोड ५ लाख रुपैयाँ संकलन गर्ने र चालु वर्षको कार्यक्रम कार्यान्वयनपछि ४ करोड ३८ लाख ५२ हजार ८४ रुपैयाँ बचत हुने प्रक्षेपण गरेको छ।

आर्थिक विकासतर्फ कृषि उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि १६ लाख रुपैयाँ, दूध तथा खसीबोका उत्पादन प्रोत्साहनका लागि २५ लाख रुपैयाँ र सहकारी क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि ४ लाख रुपैयाँ विनियोजन गरिएको छ। उद्यमशीलता विकास, स्वरोजगार तथा वित्तीय साक्षरता अभियान सञ्चालनका लागि ७१ लाख ३० हजार रुपैयाँ छुट्याइएको छ।

पर्यटन क्षेत्रको विकासका लागि विभिन्न पदमार्ग निर्माण, संरक्षण तथा डकुमेन्ट्री निर्माण कार्यका लागि ४२ लाख रुपैयाँ विनियोजन गरिएको छ। खानेपानी तथा सरसफाइ योजनाको मर्मत तथा व्यवस्थापनका लागि ५३ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ।

युवा तथा खेलकुद क्षेत्रअन्तर्गत खेलमैदान व्यवस्थापन, निर्माण तथा खेल प्रोत्साहनका कार्यक्रमका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। बालमैत्री स्थानीय शासनको दिगोपना, बाल अधिकार संरक्षण र बाल विकास प्रवर्द्धनका कार्यक्रमका लागि २० लाख रुपैयाँ छुट्याइएको छ।

शिक्षा क्षेत्रका लागि नगरपालिकाले ३ करोड २६ लाख ५४ हजार ७ सय ६० रुपैयाँ तथा संघीय सशर्त अनुदानबाट ३४ करोड ६ लाख ११ हजार रुपैयाँ गरी कुल ३७ करोड ३२ लाख ६५ हजार ७ सय ६० रुपैयाँ विनियोजन गरेको छ, जुन कुल बजेटको ४९।७६ प्रतिशत हो।

स्वास्थ्य क्षेत्रका कार्यक्रम सञ्चालनका लागि नगरपालिकातर्फ २ करोड ८६ लाख १४ हजार ६ सय रुपैयाँ र संघीय सशर्त अनुदानबाट ६ करोड ८८ लाख रुपैयाँ गरी कुल ९ करोड ७४ लाख १४ हजार ६ सय रुपैयाँ विनियोजन गरिएको छ।

कला, संस्कृति तथा साहित्य संरक्षणका लागि ८ लाख रुपैयाँ, निर्माणाधीन प्रशासकीय भवन निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ तथा वन, वातावरण र विपद् व्यवस्थापनका लागि ४७ लाख ५० हजार रुपैयाँ बजेट छुट्याइएको छ। प्रत्येक वडामा एक–एक वटा नगरस्तरीय योजना कार्यान्वयन गर्न १५–१५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

नगरसभाले आर्थिक वर्ष २०८३र०८४ को बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ। साथै विपद् व्यवस्थापन कोष, विशेष विकास कोष तथा आर्थिक सहायता सम्बन्धी खर्च स्वीकृत गर्नुका साथै नगरपालिकाविरुद्ध परेका मुद्दाको प्रतिरक्षाका लागि कार्यपालिका सदस्य भीमबहादुर विक र न्यायिक सहजकर्ता हेमन्त बुढाथोकीलाई प्रतिनिधि तोक्ने प्रस्ताव पनि पारित गरेको छ।

सभामा नगरसभा सदस्यहरूले विभिन्न प्रश्न, सुझाव तथा जिज्ञासा राखेका थिए। नगरसभा नगरप्रमुख भरत शर्मा गैरे को अध्यक्षतामा सम्पन्न भएको थियो।