• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल जारी

पोखरा, १० जेठ

गण्डकी प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८३÷०८४ को विनियोजन विधेयकअन्तर्गत मन्त्रालयत शीर्षकमाथिको छलफल जारी छ । आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले गत शुक्रबार प्रदेशसभामा प्रस्तुत गर्नुभएको आगामी आवको सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सामान्य छलफल सोमबार सकिएपछि मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल सुरु भएको हो ।

उद्योग तथा पर्यटन मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमा छलफल सुरु भएको प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले बताउनुभयो । मंगलबारको छलफलमा  प्रदेशसभा सदस्य महेश भट्टराई, देवका पहाडी त्रिपाठी, कुसुम पुन बुढा, बिन्दु पौडेल, श्यामराजा महतलगायतले आफ्ना धारणा राख्नुभएको थियो ।

छलफलमा भाग लिनुहुने प्रदेशसभा सदस्यहरुले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको थियो । दुरगामी प्रभाव पार्ने र नागरिकको जीवनस्तरमा सुधार ल्याउने कार्यक्रम तथा योजनालाई प्राथमिकतामा दिनुपर्ने उहाँहरुको भनाइ थियो । गण्डकी प्रदेश सरकारले यही असार १ गते रु. ३२ अर्ब ९९ करोड ९९ लाखको बजेट सार्वजनिक गरेको थियो । विनियोजन विधेयकमाथि प्रदेशसभामा छलफल जारी छ ।