बागलुङ, ९ असार
कालिका भगवती गुठी व्यवस्थापन समिति, बागलुङले जेठ महिनाको आय–व्यय विवरण सार्वजनिक गरेको छ। समितिका अनुसार मन्दिरले जेठ महिनामा २२ लाख ८६ हजार ४४० रुपैयाँ आम्दानी गरेको छ भने ७ लाख ५४ हजार ७८० रुपैयाँ खर्च गरेको छ। खर्च कटाएर मन्दिरले १५ लाख ३१ हजार ६६० रुपैयाँ बचत गरेको जनाएको छ।
समितिले सार्वजनिक गरेको विवरणअनुसार आम्दानीतर्फ भेटीबाट सबैभन्दा बढी ११ लाख ७७ हजार ६९० रुपैयाँ संकलन भएको छ। त्यसैगरी भाडाबाट ९ लाख ७१ हजार १४० रुपैयाँ, परेवाबाट १ लाख २ हजार ७५० रुपैयाँ तथा अन्य विभिन्न शीर्षकबाट समेत आम्दानी भएको छ।
खर्चतर्फ तलबमा ४ लाख ४७ हजार रुपैयाँ खर्च भएको छ। यस्तै पूर्वाधार विकास तथा निर्माणमा १ लाख ३ हजार ४८० रुपैयाँ, दुर्घटना बिमामा ५७ हजार ७७० रुपैयाँ, बिजुली खर्चमा ४१ हजार ६३० रुपैयाँ, इन्धनमा ३२ हजार रुपैयाँ तथा अन्य प्रशासनिक, सञ्चालन खर्च शीर्षकमा रकम खर्च गरिएको विवरणमा उल्लेख छ।
समितिका अध्यक्ष भूपेन्द्रबहादुर खड्काले नियमित धार्मिक गतिविधि, मन्दिर व्यवस्थापन तथा पूर्वाधार विकासका कार्यलाई निरन्तरता दिँदै आय–व्ययलाई पारदर्शी बनाउने उद्देश्यले मासिक विवरण सार्वजनिक गरिएको बताउनुभयो।
