बागलुङ, ७ जेठ
अमेरिकामा बसेर साहित्य सिर्जनामा सक्रिय लेखक सुरेन्द्र रेग्मीको उपन्यास कृति ‘शून्यदेखि पूर्णतासम्म’ सार्वजनिक भएको छ । शनिबार धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा आयोजित समारोहमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्राडा दिनबहादुर थापाले पुस्तक विमाचन गर्नुभयो । उहाँले प्रवासमा बसेर नेपाली साहित्यको श्रीवृद्धिमा लेखक रेग्मीले पु¥याएको योगदान अनुकरणीय रहेको बताउनुभयो ।
कृतिमाथि समीक्षात्मक टिप्पणी राख्दै क्याम्पसको नेपाली विभागका प्रमुख डा आनन्दराज सिलवालले लेखक रेग्मीले आफ्ना भोगाइलाई पात्रका माध्यमबाट जीवन्त ढङ्गले पुस्तकमा अभिव्यक्त गरेको बताउनुभयो । नवीन चिन्तनसहित लेखिएको उक्त कृतिमा पूर्वीय दर्शनको प्रभाव देखिएको उहाँको भनाइ छ । प्रवासमा रहेका नेपालीहरुको मनोदशालाई उपन्यासमा चित्रण गरिएको उहाँले बताउनुभयो ।
लेखक रेग्मीले कोभिड–१९ महामारीका बेला बन्दाबन्दी हुँदा उपन्यास लेख्न सुरु गरेको बताउनुभयो । “पाँच वर्षको मेहनपछि उपन्यासले साकार रुप लियो, यसमा ५०÷६० वर्षअघिको नेपाली ग्रामीण जनजीवनको चित्रणदेखि अध्यात्मसम्मको वर्णन छ”, उहाँले भन्नुभयो, “उच्च शिक्षाका लागि सहर झरेर गर्नुपरेको सङ्घर्ष, विदेशको दुःख र भोगाइलाई पुस्तकले समेटेको छ ।”
बागलुङको गलकोटमा जन्मनुभएका उहाँ अमेरिकामा प्रविधि र व्यवस्थापन क्षेत्रमा काम गर्दै आउनुभएको छ । ‘शून्यदेखि पूर्णतासम्म’ उहाँको पहिलो साहित्यिक कृति हो । छिट्टै कविवा सङ्ग्रह पनि सार्वजनिक गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । रत्न–श्रेष्ठ पुरस्कार गुठी, बागलुङअन्तर्गत रहेको दीअ प्रकाशनबाट उक्त कृति प्रकाशन गरिएको हो ।