बागलुङ, ४ असार
बागलुङको ढोरपाटन नगरपालिकामा बाख्रा चराउन गएका एक किशोर मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको ढोरपाटन नगरपालिका–९ जुरे घर भई हाल वडा नं. ५ साहुथोकस्थित मामाघरमा बस्दै आएका १५ वर्षीय अरुण घर्ती मगरको ढुङ्गाले च्यापिएर मृत्यु भएको हो।
मंगलबार बिहान करिब ७ बजे बाख्रा चराउन गएका उनी साँझसम्म घर नफर्किएपछि आफन्तले खोजतलास गरेका थिए। खोजी गर्ने क्रममा मामाघरदेखि करिब ३०० मिटर उत्तरतर्फ रहेको धो खोलाको किनारमा टाउको तथा ढाडको भाग ढुङ्गाले च्यापिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे मृतकका मामा टेकबहादुर पुनले दिउँसो इलाका प्रहरी कार्यालय बुर्तिबाङमा जानकारी गराएपछि प्रहरी निरीक्षक तिलक मानन्धरको नेतृत्वमा पाँच सदस्यीय टोली घटनास्थलतर्फ खटिएको थियो।
घटनास्थल इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट करिब ८ किलोमिटर उत्तरतर्फ रहेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।
