• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday
  • Unicode Converter

कास्कीमा एक महिनामा ७० फरार प्रतिवादी पक्राउ

पोखरा, ४ असार

जिल्ला प्रहरी कार्यालय, कास्कीले गत जेठमा ३८ पुरुष र ३२ महिला गरी ७० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका उनीहरुलाई कानुनी कारबाहीको दायरामा ल्याइएको हो ।

पक्राउ परेका प्रतिवादीलाई कैद सजाय र जरिवाना असुलका लागि अदालतमा बुझाइएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो । प्रतिवादीबाट १६ वर्ष पाँच महिना १९ दिन कैद र रु। एक करोड सात लाख ९० हजार पाँच सय ६० बिगो रकम असुल उपर भएको उहाँको भनाइ छ ।

चेक अनादर, सार्वजनिक अनादर, अंश मानाचामाल, बिगो लेनदन, बैंकिङ कसुर, सवारी ज्यान कसुर, अभद्र व्यवहारसम्बन्धी कसुरलगायतमा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । जेठ १ गते प्रहरीलै एकैदिन २७ जना फरार प्रतिवादीलाई पक्राउ परेका थिए । प्रहरीले सोही अवधिमा चालु मुद्दामा एक सय ७४ जनालाई पक्राउ गरिएको जनाएको छ ।

गत महिना विभिन्न अपराधसँग सम्बन्धित दुई सय ३० वटा मुद्दा दर्ता भएका थिए । तीमध्ये गम्भीर अपराधका २४, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराधका १२, आर्थिक अपराधका ९१ र अन्य विषयसँग सम्बन्धित एक सय ३० मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।