• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

ताराखोलाको नीति तथा कार्यक्रम : कृषि, पर्यटन र रोजगारीमा जोड

बागलुङ, २ असार

जिल्लाको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०८३र०८४ का लागि कृषि, पर्यटन, रोजगार, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

मंगलबार गाउँसभाको २०औँ अधिवेशनमा अध्यक्ष धनबहादुर विक ‘हिमाल’से प्रस्तुत गरेको नीति तथा कार्यक्रममा “श्रम, सहकारी, पर्यटन, कृषि, उद्योग र पूर्वाधार स् गुणस्तरीय स्वास्थ्य र शिक्षा, एक घर एक रोजगार” लाई मूल नाराका रूपमा अघि सारिएको छ।

गाउँपालिकाले उत्पादन वृद्धि, स्थानीय रोजगारी सिर्जना, सामाजिक न्याय र सुशासनमार्फत समृद्ध ताराखोला निर्माण गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष विकले बताए ।

नीति तथा कार्यक्रममा “एक वडा एक उत्पादन”, “एक गाउँ एक पशु पकेट क्षेत्र”, “एक वडा एक उद्यम” तथा “एक घर एक रोजगार” जस्ता कार्यक्रम समावेश गरिएको छ। कृषि तथा पशुपालनलाई व्यवसायिक र आधुनिक बनाउने, बाँझो जमिन उपयोगमा ल्याउने, अर्गानिक खेती प्रवर्द्धन गर्ने तथा स्थानीय उत्पादनको ब्राण्डिङ गर्ने योजनासमेत अघि सारिएको छ।

युवालाई गाउँमै रोजगारी र उद्यमसँग जोड्न श्रम बैंकको विस्तार, सीपमूलक तालिम, नवउद्यमी प्रोत्साहन तथा वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उत्पादनशील क्षेत्रमा आबद्ध गराउने कार्यक्रम सञ्चालन गरिने भएको छ।

पर्यटन प्रवर्द्धनका लागि होमस्टे सञ्चालन, पदमार्ग निर्माण, पर्यटकीय पूर्वाधार विकास तथा ‘ताराखोला पर्यटन महोत्सव’ आयोजना गर्ने नीति लिइएको छ। स्थानीय कला, संस्कृति, भेषभूषा तथा खानाको संरक्षण र प्रवर्द्धनलाई पनि प्राथमिकता दिइएको छ।

शिक्षा क्षेत्रमा डिजिटल शिक्षण प्रणाली, प्राविधिक तथा व्यावसायिक शिक्षा विस्तार, छात्रवृत्ति कार्यक्रम तथा कृत्रिम बौद्धिकता ९एआई० सम्बन्धी तालिम सञ्चालन गरिने भएको छ। स्वास्थ्यतर्फ आधारभूत स्वास्थ्य सेवा विस्तार, स्वास्थ्य चौकी स्तरोन्नति, नियमित स्वास्थ्य शिविर, मातृ तथा शिशु स्वास्थ्य कार्यक्रम र टेलिमेडिसिन सेवा सञ्चालनका लागि पहल गरिने जनाइएको छ।

सडक, पुल, सिँचाइ, ऊर्जा तथा सुरक्षित आवास निर्माणलाई पूर्वाधार विकासको मुख्य प्राथमिकतामा राखिएको छ। साथै वन संरक्षण, जलवायु अनुकूलन, विपद् जोखिम न्यूनीकरण तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रमलाई समेत निरन्तरता दिइने भएको छ।

गाउँपालिकाले ई–गभर्नेन्स, डिजिटल सेवा प्रवाह, पारदर्शिता र उत्तरदायी प्रशासनमार्फत सुशासन सुदृढ गर्ने नीति पनि अघि सारेको छ।

नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट स्थानीय उत्पादन वृद्धि, रोजगार सिर्जना र समग्र विकासमा टेवा पुग्ने अध्यक्ष विकले बताए ।