• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

गण्डकी सरकारको बजेट ३२ अर्ब ९९ करोड

पोखरा, १ जेठ
गण्डकी प्रदेश सरकारले आगामी आव २०८३/०८४ का लागि कुल रु. ३२ अर्ब ९९ करोड करोड ९९ लाखको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले सोमबार बसेको प्रदेशसभा बैठकमा चालुतर्फ रु. १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार र पूँजीगततर्फ रु. २० अर्ब दुई करोड ६१ लाख २२ हजारको बजेट प्रस्तुत गर्नुभएको हो । जुन चालुतर्फ कुल विनियोजनको ३८.५६ र पूँजीगततर्फ ६०.६८ प्रतिशत हो ।

वित्तीय व्यवस्थातर्फ रु. २५ करोड अर्थात ०.७६ प्रतिशत बजेट विनियोजन गरिएको आर्थिक मामिलामन्त्री शेरचनले बताउनुभयो । आगामी आवका लागि खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हने वित्तिय समानीकरणबाट रु. सात अर्ब ८४ करोड ८२ लाख, राजश्व बाँडफाँटबाट रु. १० अर्ब १६ करोड ४७ लाख ४८ हजार, रोयल्टी बाँडफाँटबाट रु. ५१ करोड ४८ लाख, सशर्त अनुदानतर्फ रु. तीन अर्ब ९३ करोड तीन लाख, समपूरक अनुदानतर्फ रु. ५५ करोड ४६ लाख र विशेष अनुदानतर्फ रु. ३९ करोड ५४ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै प्रदेश सरकारको आन्तरिक राजश्व परिचालनबाट रु. पाँच अर्ब ८४ करोड १८ लाख ५२ हजार प्राप्त हुने अनुमान गरिएको आर्थिक मामिलामन्त्री शेरचनले बताउनुभयो । चालु आवको वार्षिक कार्यक्रम कार्यान्वयन पश्चात रु. दुई अर्ब नगद मौज्दात रहने अनुमान गरिएको छ । यसरी न्यून हुने रकम रु. एक अर्ब ७५ करोड आन्तरिक ऋण परिचालनबाट पूर्ति गरिने जनाइएको छ ।