बागलुङ, १ असार
इम्ब्रोइडरी एण्ड गार्मेन्ट्स एसोसिएसन ९एगा० पोखराले बागलुङ जिल्लाको ढोरपाटन सिकार आरक्षण क्षेत्रको अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न गरेको छ। हिमाली क्षेत्रको बदलिँदो ट्रेकिङ संस्कृति, हिमाली दृश्यावलोकन, सांस्कृतिक पर्यटन तथा वन्यजन्तु अवलोकनको उद्देश्यसहित संस्थाले तीनदिने भ्रमण कार्यक्रम आयोजना गरेको हो।
भ्रमणका क्रममा ढोरपाटन सिकार आरक्षण क्षेत्रभित्र रहेका विभिन्न पर्यटकीय गन्तव्यहरूको अवलोकन, स्थानीय पर्यटन व्यवसायीहरूसँग अन्तरक्रिया तथा पोखराको लेकसाइड र ढोरपाटन क्षेत्रबीच पर्यटन विकासका थप सम्भावनाबारे छलफल तथा अध्ययन गरिएको एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले जानकारी दिनुभयो।
नेपालको एकमात्र कानुनी सिकार आरक्षका रूपमा परिचित ढोरपाटनमा निश्चित सिजन र अनुमति लिएर सीमित संख्यामा नाउर तथा झारलको सिकार गर्न पाइन्छ। प्राकृतिक सौन्दर्य, जैविक विविधता र साहसिक पर्यटनका लागि अन्तर्राष्ट्रिय रूपमा परिचित यस क्षेत्रमा भ्रमण टोलीले चार हजार मिटरभन्दा माथिको उचाइमा रहेको बुकी पाटनसम्मको यात्रा गरेको थियो।
संस्थाकी उपाध्यक्ष गीता ढकालले ढोरपाटन र बुकी पाटनको यात्राले फरक अनुभूति दिलाएको बताउनुभयो। संस्थापक अध्यक्ष बेदप्रसाद पाण्डेले ४८ सदस्यीय टोलीले ढोरपाटनमा रहेको उत्तरगंगा नदीको मुहान लगायतका क्षेत्रहरूको समेत अवलोकन गरेको जानकारी दिनुभयो।
संस्थाकी सचिव माया सुबेदीका अनुसार भ्रमणका क्रममा सहभागीहरूले मनोरम हिमाली दृश्य, उच्च हिमाली घाँसे मैदान (बुकी), दुर्लभ वन्यजन्तु तथा चराचुरुङ्गी अवलोकनका साथै ट्रेकिङ र प्रकृतिसँग नजिक हुने अवसर प्राप्त गरेका थिए।
अध्ययन तथा अवलोकन भ्रमणका क्रममा टोलीले बागलुङस्थित धार्मिक तथा पर्यटकीय गन्तव्य बागलुङ कालिका मन्दिरमा दर्शनसमेत गरेको थियो।
भ्रमण टोलीमा संस्थाका पूर्वअध्यक्ष कृष्णकुमार श्रेष्ठसहित पदाधिकारी, कार्यसमिति सदस्य, सद्भाव सदस्य तथा संस्थामा आबद्ध सदस्यहरूको सहभागिता रहेको थियो। भ्रमणको संयोजन संस्थाका सदस्य रामकृष्ण तिमिल्सिनाले गर्नुभएको थियो। भ्रमण रमाइलोका साथै अध्ययनमूलक र उपलब्धिमूलक रहेको उहाँले बताउनुभयो।