बागलुङ, २९ जेठ
सरकारको विभेदकारी विज्ञापन नीतिको विरोधमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाले शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना कार्यक्रम गरेको छ।
केन्द्रको चरणबद्ध आन्दोलनअन्तर्गत बागलुङ शाखाले धर्ना कार्यक्रम आयोजना गरेको हो। सरकारले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्ने नीति अघि सारेपछि त्यसको विरोधमा महासंघ आन्दोलनमा उत्रिएको हो।
धर्ना कार्यक्रममा बोल्दै पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ले राज्यले सबै सञ्चारमाध्यमप्रति समान व्यवहार गर्नुपर्नेमा विभेदकारी नीति अवलम्बन गरेको बताए। उनले उक्त नीति स्वतन्त्र तथा निजी सञ्चारमाध्यमको हितविपरीत रहेको भन्दै निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरे।
सरकारले निर्णय नसच्याए आन्दोलनका कार्यक्रम थप सशक्त बनाइने महासंघका सचिव नारायण रिजालले बताए। महासंघले यसअघि कालो ब्यानर प्रदर्शन, सम्पादकीयमार्फत विरोध जनाउने, हस्ताक्षर सङ्कलनलगायतका कार्यक्रम सञ्चालन गरिसकेको जनाएको छ।
महासंघले सरकारी विज्ञापन वितरणमा समानता, पारदर्शिता र सबै सञ्चारमाध्यमको समान पहुँच सुनिश्चित गर्न सरकारलाई आग्रह गर्दै विभेदकारी नीति फिर्ता लिन माग गरेको छ।
