बागलुङ, २८ जेठ
बागलुङ नगरपालिकाले नगर क्षेत्रभित्रको सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना १५ दिनभित्र हटाउन सार्वजनिक सूचना जारी गरेको छ । त्यसरी निर्माण गरिएका घरटहरा, पसल तथा अन्य संरचनाहरु आफै हटाउन व्यक्ति, सङ्घसंस्था र घरधनीलाई सूचित गरिएको हो ।
तोकिएको समयभित्र संरचना नहटाएमा नगरपालिकाले प्रचलित कानुन अनुसार हटाउने र त्यसबापत लाग्ने खर्च सम्बन्धित व्यक्ति तथा सङ्घसंस्थाबाट असुल उपर गरिने नगरपालिकाद्वारा बुधबार जारी सूचनामा उल्लेख छ ।
उक्त सूचनामा मुलुकी देवानी संहिता, २०७४ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम सरकारी, सार्वजनिक, ऐलानी तथा पर्ती जग्गाको संरक्षण स्थानीय तहको दायित्व भएको उल्लेख गरिएको छ।
सोही कानुनी व्यवस्था तथा सम्बन्धित निकायबाट प्राप्त निर्देशन र नगर कार्यपालिकाको निर्णयअनुसार सूचना प्रकाशित गरिएको जनाइएको छ। नगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण तथा व्यवस्थित सहरी विकासका लागि सबै सरोकारवाला पक्षलाई सहयोग गर्न आग्रह गरेको छ।