• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

फेवाले जित्यो बेगनास डुंगा दौडको उपाधि

 

पोखरा, २८ जेठ

पोखरास्थित बेगनास तालमा बुधबार सम्पन्न भएको छैटौं संस्करणको खुला डुंगा दौड प्रतियोगिताको उपाधि फेवा डुंगा व्यवसायी संगठनको समूहले हात पारेको छ ।बेगनास ताल डुंगा व्यवसायी समितिद्वारा आयोजित प्रतियोगिताको महिला र पुरुषतर्फको दुवै प्रतिस्पर्धामा पहिलो, दोश्रो र तेश्रो स्थानमा फेवा समूहले जित हासिल गरेको हो ।

पुरुष तर्फको १५ सय मिटर दुरीको दौडमा फेवा डुंगा व्यवसायी संगठनका चन्द माझीको समूहले २४ मिनेटमा उक्त दुरी पार गरी प्रथम स्थान हासिल गर्यो भने फेवाकै सुदर्शन मगरको समूहले २५ मिनेट ४६ सेकेण्डमा उत्त दुरी पार गरी दोस्रो स्थान हासिल गरेको छ ।

दीपक मगरको समूहले २६ मिनेट १४ सेकेण्डमा सो दुरी पार गरी तृतिय स्थान हासिल गरेको बेगनास ताल डुंगा व्यवसायी समितिले जनाएको छ । पुरुषतर्फको सान्त्वना पुरस्कार भने २६ मिनेट ४३ सेकेण्डमा उक्त दुरी पार गर्दै राजु जलारीको समूले हात पारेको छ ।

महिलातर्फ एक हजार मिटरको दुरीमा भएको प्रतिष्पर्धामा २० मिनेट १६ सेकेण्डमा निर्धारित दुरी पार गर्दै फेवा डुंगा व्यवसायी समितिका सन्तमाया जलारीको टिमले प्रथम स्थान हासिल गरेको छ ।

फेवाकै उषा गुरुङको समूहले २० मिनेट ४९ सेकेण्डमा उक्त दुरी पार गर्दै दोस्रो स्थान र दिलसुभा गुरुङको समुहले २१ मिनेट १७ सेकेण्डमा सोही दुरी पार गर्दै तृतिय स्थान हासिल गरेको छ ।

नानुमाया जलारीको समुहले २१ मिनेट ४१ मिनेटमा उक्त दुरी पार गरि सान्त्वना स्थान हासिल गरेको छ । महिला तथा पुरुष दुवैतर्फ प्रथम हुन सफल टिमले रू। १५ हजार, दोस्रो हुनेले रू। १० हजार, तृतीयले रू। पाँच हजार तथा सान्त्वनाले रू। तीन हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय प्रवर्द्धक रहेको डुंगा दौड प्रतियोगिता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बेगनासतालबारे प्रचारप्रसार गर्ने, तालमा हुन सक्ने भवितव्य घटनाबारे सचेतनामूलक जानकारी दिने, बेगनासतालको महत्व बुझाउन तथा खेलको माध्यमबाट आन्तरिक पर्यटक भित्राउने उद्देश्यले आयोजना गरिएको समितिका अध्यक्ष नवराज बाँस्तोलाले बताउनुभयो ।

प्रतियोगितामा पुरुष तर्फ २६ र महिला तर्फ नौ टिमले सहभागीता जनाएका थिए । पोखरा महानगरपालिका वडा नं। ३१ का वडाध्यक्ष ढकनाथ कँडेल, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेलगायतले डुंगा प्रतियोगिताले बेगनास तालको प्रवर्द्धन र प्रचारप्रसार हुने बताएका थिए ।